एएफसी कप प्लेअफ : श्रीलंका पुलिसलाई पराजित गरे के हुन्छ ?

काठमाडौं । नेपालको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्लेअफमा बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग खेल्दैछ । लिग विजेता बनेपनि एएफसीको प्रतियोगिता खेल्न पाएको आर्मी फुटबल क्लबको योजना के छ ?

थ्री नेसन्स कपको उपाधि जित्दै फुटबल प्रेमीलाई नेपाली फुटबल टिमले खुशी दिलाएको क्षण धेरै भएको छैन । दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि नेपालले जित्यो ।

यही रंगशालामा नेपालले उपाधि जितेको ९ दिनपछि अर्थात् २५ गते बुधबार आर्मी फुटबल क्लब नेपाली समर्थकलाई फेरि खुशी पार्ने लक्ष्यमा छ । श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्दा आर्मीको एउटै लक्ष्य हुन्छ- जित ।

करिब आठ हजार दर्शक रंगशालामा प्रवेश गराउने योजना रहेको खेलमा आर्मी फुटबल क्लबलाई सहज भने पक्कै हुने छैन । तर मोफसलमा राम्रो प्रदर्शन गरेकाले खेल जित्ने तर्क राख्छन् मुख्य प्रशिक्षक नविन न्यौपाने । उनी भन्छन्, ‘हामीले मोफसलका दुईवटा प्रतियोगिता जितेका छौं । सबै खेलाडीहरुको मनोबल उच्च छ । त्यसैले पनि हामी खेल जित्नेछौं ।’

एएफसी कपमा स्थान बनाउन पनि आर्मीले धेरै कठिन संघर्ष गर्नुपर्ने हुन्छ । एएफसी कप खेल्न आर्मीले प्लेअफको तीन खेल जित्नैपर्ने हुन्छ ।

आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिसबीचको विजेताले वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा वैशाख १ गते हुनेछ । आर्मी तथा श्रीलंका पुलिसमध्ये एक र बैंगलुरुबीचको विजेताले वैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीबीचको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ । यी टिमबीचको विजेताले भारतको बैगलुरु, नेपालको आर्मी र श्रीलंकाको पुलिस क्लबसँग प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउनेछ ।

कस्तो छ अभ्यास ?

कोरोना भाइरसको असरले सबै देशमा खेलकुद क्षेत्रमा उत्तिकै असर गर्‍यो । अझ अन्य देशहरुले कोरोनाको विभिन्न उपाय अपनाउँदै अभ्यास गरे, प्रतियोगिताहरू भए । नेपालमा भने त्यस्तो हुन सकेन ।

कोरोनापछि नेपाली खेलकुद फर्किएको करिब दुई महिना भयो । अझ धेरै खेलका खेलाडीले त नियमित अभ्यास गर्नसमेत पाएका छैनन् । एएफसी क्लब लाइसेन्सको मान्यता पाइसकेपछि आर्मीले पनि सावधानी अपनाएर अभ्यास गर्न थाल्यो ।

एएफसी कपको प्लेअफ खेललाई मध्यनजर गर्दै आर्मीले राम्रो अभ्यास गरिरहेको छ । यसैक्रममा आर्मीले ओलम्पिकको तयारी गरिरहेको कीर्गिस्तानको यु–२३ टिमसँग पनि दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । जसमा आर्मीले गोलरहित बराबरी खेल्दै सन्तोषजनक नतिजा निकाल्यो । त्यो खेलमा आर्मीका कप्तान भरत खवास र मुख्य गोलकिपर विकेश कुथु थिएनन् । नेपालले थ्री नेसन्स कपको उपाधि जितेसँगै भरत र विकेश आर्मीको अभ्यासमा फर्किसकेका छन् ।

प्रायः आर्मीमा रहेका खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । कप्तान भरत खवास, सुमन अर्याल, जर्जप्रिन्स कार्की, विकेश कुथु, नवयुग श्रेष्ठ, सन्तोष तामाङलगायतका खेलाडी नेपाली राष्ट्रिय टिमबाट खेल्दै आइरहेका छन् ।

एएफसी कपकै लागि भनेर लामो समयदेखि कडा अभ्यास गरिरहेको प्रशिक्षक न्यौपाने बताउँछन् । ‘हामीले एएफसी कपको प्लेअफ खेल्ने पक्का भएसँगै अभ्यास थालेका थियौं । निकै राम्रो भएको छ । सुमन अर्यालमा सानो समस्या देखिएको छ । खेलअघि नै उनी पनि ठीक हुन्छन् । समग्रमा तयारी राम्रो छ’, प्रशिक्षक न्यौपानेले भने ।

भाग्यमानी आर्मी

लिग विजेताकै हैसियतमा भने मछिन्द्र क्लबले एएफसी कपको प्लेअफ खेल खेल्नुपर्ने हो । तर आर्मी फुटबल क्लबले किन खेल्दैछ ?

२०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मछिन्द्रले जितेको थियो । १३ खेलबाट ३१ अंक बटुल्दै लिग च्याम्पियन बनेको मछिन्द्रले एएफसी कपको प्लेअफ खेल्न पाएन । यसपछिको एउटै कारण हो, क्लब लाइसेन्स । एएफसीको नियमअनुसार ए डिभिजन लिगका सबै क्लबहरुले एएफसीको क्लब लाइसेन्स पाइसकेको हुनुपर्छ । त्यसका लागि एएफसीले छुट्टै नियम र मापदण्ड राखेको छ ।

उक्त मापदण्ड नेपालका कुनै पनि क्लबले पूरा गर्न सकेनन् । आफ्नै मैदान, एकेडेमी, उमेर समूहका टिम, वित्त व्यवस्थादेखि क्लब लाइसेनिङमा एएफसीले धेरै मापदण्ड हुनुपर्ने सर्तहरू राखेको छ । यही मापदण्ड पूरा नगर्दा नेपालका १३ वटा क्लबलाई केही महिनाअघि क्लब लाइसेन्स नदिने एएफसीले जनाएको थियो । तर त्रिभुवन आर्मी क्लबले भने सुधार गर्दै फेरि एएफसी क्लब लाइसेन्सको लागि अपिल गरेको थियो । त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दियो । एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेल्न लागेको हो ।

प्रतिक्रिया