मनाङलाई पराजित गर्दै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । संकटा क्लब पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा संकटाले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। संकटाको जितमा फोफोले गोल गरे । फोफोले खेलको ४४ औं मिनेटमा गोल गर्दै संकटालाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको संकटाले मनाङविरुद्ध दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो ।

६ पटकको आहा रारा गोल्डकप च्याम्पियन मनाङलाई पराजित गर्दै संकटाले भने सेमिफाइनलमा एपीएफ क्लबसँगको भेट पक्का गरेको छ । मंगलबार थ्रीस्टार क्लबले नेपाल पुलिस क्लबसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैँया पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले पाँच लाख, एक हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया