जेठ–असारमा कोरोना उच्च विन्दुमा पुग्नसक्छ, मापदण्ड अपनाऔं : स्वास्थ्यमन्त्री

काठमाडौं । सरकारले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्नसक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे ।

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ असारमा पुन उच्च दरमा पुग्न सक्ने बताए । उनले भने, ‘कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो सातादेखि निकै कम भइसकेकोमा पुन संक्रमण बढ्दै गइरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सतर्क र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान, आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ ।’

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए । खोपको आपत्कालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानूनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसद्को पहिलो बैठकमा पेश हुन नसकेकोतर्फ उनले चिन्ता व्यक्त गरे ।
मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार चैत्र २२ गतेसम्म २२ लाख ८५ हजार भन्दा बढीको नमूना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमितमध्ये ९८ प्रतिशत निको भइसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमवार ३ बजेसम्म ४ हजार ५ सय ३६ जनाको नमूना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उनले दिए ।

उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए । सरकारले महामारी रोकथामका लागि वैज्ञानिक यथार्थपरक नीतिहरु तर्जुमा गरि बहुक्षेत्रीय सहयोग र समन्वयन गर्दे आएको पनि उनले स्पष्ट पारे । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै स्थानीय सरकारहरुको समन्वय, सहयोग तथा सहकार्यका कारण कोभिडका कारण मृत्यु हुने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए । उनले कोभिड १९ सताब्दीकै प्रमुख चुनौतीको रुपमा रहेको र त्यसले मानवस्वास्थ्यको सँगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे ।

उनले मुलुकभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वारेन्टीनलगायत बारे पनि विस्तृत जानकारी गराए । उनले कठिन समयमा पनि सरकारले औषधी औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया