लुम्बिनीविरुद्ध प्रदेश १ को १० विकेटको जित

काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ । प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो ।

१०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३.२ ओभरमा विना विकेट लक्ष्य पूरा गर्यो। प्रदेश १ का कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे ।

रुविनाले ६८ रन बनाइन् । उनले ४९ बलको सामना गर्दै १२ चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै, काजलले २५ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।

लुम्बिनीका सरस्वती मगरले अर्धशतक बनाइन् । उनले ६६ बलमा पाँच चौका प्रहार गर्दै अविजित ५० रन बनाइन् ।

त्यस्तै, कप्तान नेरी थापाले २० र नितु भण्डारीले १८ रन बनाए । बलिङतर्फ प्रदेश १ की सब्नम राईले एक विकेट लिइन् ।

आफ्नो दोस्रो खेलमा प्रदेश १ को यो पहिलो जित हो । यसअघि प्रदेश १ एपीएफसँग आठ विकेटले पराजित भएको थियो ।

यता, लुम्बिनी प्रदेशको भने यो लगातार दोस्रो हार हो । यसअघि लुम्बिनी प्रदेश ललितपुर मेयर्स एघार टिमसँग २७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया