मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन्छौँ : आङ्बो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ ले मुख्यमन्त्री शेरधन राईविरद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री इन्द्र आङ्बाले मकालु खबरसँग भने– ‘आज बैठक बस्दैछ । बैठकमार्फत हामीले त्यो कुराको जानकारी दिन्छौँ । त्यसपछि अविश्वास प्रस्ताव फिर्ता लिन्छौँ ।’

त्यहाँ सोमबार दिउँसो २ बजे प्रदेश सभा बैठक बस्दैछ । गत पुस १२ गते तत्कालीन नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि गत चैत १७ गते विपक्षी एमाले (माधवकुमार नेपाल समूह) ले प्रस्ताव फिर्ता लिएको थियो । ‘अविश्वास प्रस्ताव पारित नहुने भएपछि यसको कुनै औचित्य देखिएन,’ आङ्बोले भने, ‘त्यसपछि राखिरहनको अर्थ देखिएन ।’

९३ जना सदस्य रहेको प्रदेश सभामा एमालेका ५१ सांसद छन् । कांग्रेस माओवादी र साना दल एक ठाउँ उभिँदा प्रदेशमा ४२ मात्रै सदस्य छन् । प्रदेश सभामा सरकार निर्माणका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया