एपीएफ र हेल्प नेपाल शीर्ष स्थानमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएका छन् ।

एपीएफले तीनवटा खेलमा जित्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । त्यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपीएफसँग समान अंक बनाउन सफल भएको हो । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा त्रिभुवन आर्मी र पुलिसको ३ खेलबाट समान ६–६ अंक तथा बुलबुले रारा क्लबको ४ खेलमा ६ अंक नै छ । नयाँबजार सामाजिक युवा क्लबले ३ र मणिमुकुन्द क्लब ४ खेल खेलेपनिअंक बटुल्न भने सकेका छैनन् ।

प्रतियोगिताको महिलातर्फ आर्मी र पुलिसको समान ८–८ अंक रहेको छ । त्यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपीएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोले ३ खेल र ढोरपाटन स्पोर्टस् क्लबले ४ खेल खेलेपनि अंक जोड्न सकेका छैनन् ।

आइतबार भएको महिलातर्फको खेलमा पुलिस र आर्मीले जित निकालेका छन् । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५ र २५–५ तथा आर्मीले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८ र २५–१३ ले पराजित गरेका हुन् । त्यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा पुलिसले मणी मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित गर्‍यो । तीन भारतीय खेलाडीसहितको हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गरेको हो ।

प्रतिक्रिया