नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि नेपाली मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्दै आएका थिए । उनकै प्रशिक्षणमा नेपालले चैत १६ गते दशरथ रंगशालामा थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । अब्दुल्लाहलाई एन्फाको टेक्निकल कमिटीको सिफारिसमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाइएको हो ।

गएको मंसिरमा योहान कालिनले मुख्य प्रशिक्षकबाट दिएको राजीनामा एन्फाले स्वीकृत गरेको थियो । स्वीडेनका योहान कालिन कोरोना भाइरसको संक्रमण बढेसँगै स्वदेश फर्किएका थिए । त्यसपछि उनी नेपाल आएनन् । उनको स्थानमा बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

बालगोपालकै नेतृत्वमा नेपालले बंगलादेशसँग उसैको मैदानमा कातिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल बंगलादेशसँग २–० गोलले हार्न पुग्यो । त्यस्तै, मंसिर २ गते भएको दोस्रो खेलमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

बालगोपाल महर्जनसँग मात्रै हैन नेपालका कुनै पनि प्रशिक्षकसँग प्रो लाइसेन्स छैन । विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना सदस्य राष्ट्रलाई प्रशिक्षक राख्दा प्रो लाइसेन्स भएको अनिवार्य रुपमा राख्नु पर्ने प्रावधान ल्याएको छ । योहान कालिनले राजीनामा दिएसँगै एन्फाले प्रो लाइसेन्स भएका प्रशिक्षकको खोजी गरिरहेको थियो ।

चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरका रुपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो । उनै अब्दुल्लाहलाई एन्फाले राष्ट्रिय टिमको जिम्मा दिएको हो । अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि नियुक्त गरेको छ । उनको प्रशिक्षणमा नेपालले राम्रो नतिजा निकाल्दै गए सम्झौता अवधि बढाउन सकिने एन्फाले जनाएको छ ।

पछिल्लो समयमा नेपाल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको लागि तयारी गरिरहेको छ । बालगोपाल महर्जनको नेतृत्वमा नेपालले करिब चार महिना तयारी गरिसकेको छ । मुख्य प्रशिक्षक बनेका अब्दुल्लाहको मुख्य चुनौती नै जुनमा हुने विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी रहेको खेल रहेका छन् । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग तीन खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया