पौडेल र ठाकुरबिच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरबिच भेटघाट भएको छ । जसपा नेता ठाकुरलाई भेट्न कांग्रेस नेता पौडेल आफैँ ठाकुर निवास हात्तीवन पुगेका थिए । जसपा नेता केशव झाले मकालु खबरलाई दिएको जानकारीअनुसार पौडेल र ठाकुरबिच करिब डेढ घण्टा कुराकानी भएको थियो । ‘उहाँहरुबिच भेटघाट भएको हो,’ झाले भने, ‘उहाँहरुबिच करिब डेढ घण्टा कुराकानी भयो भन्ने छ ।’

स्रोतका अनुसार पौडेल र ठाकुरबिच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग र नयाँ सरकार गठनबारे छलफल भएको छ । स्रोतले भन्यो– ‘दुई नेताबिच प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको बारेमा छलफल भयो भन्ने कुरा छ ।’ यसअघि शुक्रबार मात्रै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको थियो ।

स्रोतले बताएअनुसार पौडेल ठाकुरलाई ओली नेतृत्वको सरकारमा सामेल नगराउने प्रयासस्वरुप हात्तीवन पुगेका हुन् । पौडेलले प्रधानमन्त्री ओलीले स्वइच्छाले राजीनामा नदिए संसद्मा मिलेर अविश्वास प्रस्ताव लानुपर्ने बताएको र त्यसलाई ठाकुरले अस्वीकार गरेको स्रोतले मकालु खबरलाई जानकारी दियो । स्रोतले उल्लेख गरेअनुसार ठाकुरले प्रतिपश्न गरेका थिए । ‘गठबन्धनको सरकार बनाउने भन्ने अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुनपर्ने होइन र ?,’ ठाकुरको प्रश्न थियो । यसअघि शनिवार मात्रै पनि पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिएमा संसद्मा अविश्वास प्रस्ताव जैजानुपर्ने बताएका थिए ।

नेता पौडेलले यस विषयमा अझै छलफल गर्न सकिने बताएका थिए । उनले प्रधानमन्त्रीको लागि कोही पनि प्रस्ताव भइनसकेकाले छलफलको लागि ढोका खुला नै रहेको बताएका थिए । स्रोतले भन्यो– ‘यस विषयमा ठाकुरले केही बोलेनन् ।’

प्रतिक्रिया