सुदूरपश्चिम प्रदेश एपीएफसँग पराजित

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार आफ्नो दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको हो ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा एपिएफले प्रदेश १ लाई आठ विकेटले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा लगातार जित निकाल्ने क्रममा एपीएफले सुदूरपश्चिमलाई सहज रुपमा पराजित गरेको हो ।

यता, सुदूरपश्चिमको भने यो दोस्रो खेलमा पहिलो हार हो । यसअघि सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स एघार टिमलाई सात विकेटले पराजित गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १२७ रन बनाएको थियो ।

एपीएफकी ओपनर ज्योती पाण्डेले अर्धशतक बनाइन्। उनले ५० बलमा सात चौका प्रहार गर्दै ५९ रन बनाइन् । त्यस्तै, सरिता मगरले अविजित ३५ र कप्तान सीता राना मगरले १६ रन बनाइन् ।

१२८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सुदूपश्चिमले १९ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि तीन जना खेलाडीले मात्रै दोहोरो अंक बनाए ।

सुनिता लुहारले २३, डोली भट्टले १६ र रेवती धामीले १२ रन जोडे। सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी विनु बुढाले तीन, सीता राना मगर र सुमन विष्टले समान २-२ विकेट लिए ।

प्रतिक्रिया