‘समर्थन फिर्ता लिइहाल्यौँ भने ओलीले अर्को षड्यन्त्र गर्नेछन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले आफूहरुले सरकारको समर्थन फिर्ता लिए एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अर्को षड्यन्त्र बुन्ने बताएका छन् । ‘ओली खेल्न सक्ने मान्छे हुन्,’ नेता पोखरेलले मकालु खबरसँग कुरा गर्दै भने, ‘समर्थन फिर्ता लिने र नलिने त हाम्रो कुरा हो नि । अनावश्यक दबाब किन दिने ? यदि हामीले समर्थन फिर्ता लिइहाल्यौँ भने फेरि अर्को षड्यन्त्र रच्छन् ।’

माओवादीले समर्थन फिर्ता लिए ओली पुनः ताजा जनादेशतिर फर्किने नेता पोखरेलको आशंका छ । उनले भने, ‘यदि अहिल्यै हामीले समर्थन फिर्ता लियौँ भने ओलीले संसद् अधिवेशन स्थगित गर्छन् र राष्ट्रपतिसमक्ष ताजा जनादेशका लागि आह्वान गर्छन् । उनले कतिबेला के गर्छन् थाहा हुँदैन । त्यसकारण हामी यो विषयमा छलफलरत नै छौँ । अहिल्यै लिइहाल्ने अवस्था पनि बनेको छैन । हामी यसमा छलफल नै गर्दैछौँ ।’

यसअघि शनिवार मात्रै ओलीले समर्थन फिर्ता लिए आफूले राजीनामा दिने बताएका थिए । ओलीको उक्त अभिव्यक्तिलाई भने नेता पोखरेलले घुर्क्याइको रुपमा बुझेका छन् । ‘अनावश्यक कुराहरु भन्दा हामीले फिर्ता लिइहाल्ने भन्ने त हुँदैन नि,’ नेता पोखरेलले भने, ‘यो घुर्की लगाउने र कुतर्क गर्ने मात्रै हो ।’

नयाँ सरकार गठनमा दलहरुबिच सकारात्मक धारणा
शनिवार कपिलवस्तु पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार छिट्टै बन्ने दाबी गरे । ‘तपाईँहरुलाई बधाई छ,’ सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेसको निर्णयले राजनीतिक कोल्टो फेर्यो । अब चाँडै नयाँ सरकार बन्छ ।’

त्यसो त नेता पोखरेलले पनि नयाँ सरकार गठनबारे अन्य दुई दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सकारात्मक छलफल भइरहेको बताए । उनले भने, ‘नयाँ सरकार त बन्छ बन्छ । यसमा अन्य दुईसँग पनि सकारात्मक छलफल भइरहेको छ । जसमा झनै कांग्रेस त एकखाले निष्कर्षमा पनि पुगिसकेको छ ।’

प्रतिक्रिया