कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नम्बरको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारले जानकारी दिए ।

उनकाअनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी-२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया