प्रदेश १ : २१ पदका लागि ४६ जना चुनावी मैदानमा

विराटनगर । नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढेको छ । नेपाल पत्रकार महासंघ संघीय समितीको लागि उम्मेदवारहरु चुनावी प्रचार-प्रसारमा देखिएका छन् भने प्रदेश शाखाहरुले पनि उम्मेदारी दर्ता पछि भोट माग्न थालेका छन् ।

प्रदेश १ को चैत २५ मा हुने निर्वाचनका लागि उमेद्वारको अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवार आफ्नो जीत सुनिश्चित गराउन लागि परेका छन् । निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार विभिन्न २१ पदका लागि ४६ जनाको उमेदवारी कायम भएको छ ।

महासंघ प्रदेश १ को अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दिएकाछन् । अध्यक्ष पदमा झापाका मोहनकाजी न्यौपाने, मोरङका लीलाबल्लभ घिमिरे र इलामका सोमनाथ सुसेलीलेको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

खुला उपाध्यक्ष पदमा रोहितकुमार राई र लवदेव ढुंगाना, महिला उपाध्यक्ष पदमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ्गको उमेदवारी परेको छ । महासचिव पदका लागि फिपराज बेघा लिम्बु र विवेक गौतमले उमेदवारी दिका छन् । सचिव पदमा बिराटनगरका अविजाल विष्ट र देवेन्द्र कार्कीको उमेदवारी परेको छ भने समावेशी सचिव पदमा सन्तवीर लामा र सन्तोष यादवको उमेदवारी परेको निर्वाचन अधिकृत यज्ञ शर्माले जानकारी दिए ।

कोषाध्यक्ष पदका लागि सन्तोष रुचाल र विमल लामिछानेले उमेदवारी दिएका छन् । महासंघले प्रदेश समितिमा ७ पदाधिकारी, पाँच खुला सदस्य र समावेशी समूहहरु आदिवासी जनजाति, महिला, मधेशी, दलित, सिमान्तकृत समुदाय आदि क्षेत्रबाट आठ जना सदस्य निर्वाचित गर्ने व्यवस्था छ । नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै पटक गर्न लागेको हो ।

प्रतिक्रिया