रियलको जितमा बेन्जिमा र एसेन्सियोको गोल

काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । घरेलु टिम रियलले इबारलाई २-० गोलले हराएको हो ।

शनिबार राति भएको रियलले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० गोलको अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियलले इबारलाई २-० गोलले पराजित गरेको हो ।

ला लिगामै भएका अन्य खेलमा हुएस्काले लेभान्टेलाई २-० गोलले हराउँदा ग्रानाडालाई भिल्लारियलले ३-० गोलले हराएको छ । त्यस्तै, ओसासुना र गेटाफेले भने गोलरहित बराबरी खेलेका छन् ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २९ खेलबाट ६३ अंक बनाएको छ । पराजित इबारको भने २९ खेलबाट २३ अंक छ। लिगको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड रहेको छ । उसको २८ खेलबाट ६६ अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ ।

प्रतिक्रिया