वेष्ट ब्रुमसँग चेल्सी स्तब्ध

काठमाडौं । लिगको चौथो स्थानमा रहेको चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । लिगको १९ औं स्थानमा रहेको वेष्ट ब्रुमसँग चेल्सी ५- २ गोलअन्तरले पराजित भएको हो ।

चेल्सीले आफ्नै घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको हो । खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर खेलको २९ औं मिनेटमा थियागो सिल्भाले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा माथेउस पेरेइराले दुई गोल गर्दै वेष्ट ब्रुमलाई २-१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको वेष्ट ब्रुमले दोस्रो हाफमा थप तीन गोल गर्दा चेल्सीले एक गोल मात्रै गर्न सफल भयो । खेलको ६३ औं मिनेटमा क्यालुम रोविनसनले र ६८ औं मिनेटमा एमबाय डियाग्नले गोल गर्दै वेष्ट ब्रुमलाई ४-१ गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा सासन माउन्टले गोल गर्दै चेल्सीलाई ४-२ को स्थितिमा ल्याएपनि खेलको अन्तिम समयमा क्यालुमले गोल गर्दै वेष्ट ब्रुमलाई ५-२ गोलको जित दिलाए ।

प्रतिक्रिया