‘खरबुजो व्यापार’ बाट १४ जनाको लालनपालन

  • सुमन सुस्केरा

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ पोखरियाका मोहम्मद समिम शेष शनिवार खरबुजो विक्रीमा व्यस्त थिए । हरेक दिन मुनालपथ र आसपासमा भेटिने शेषको दैनिकी खरबुजो किनबेचमै गुज्रिन्छ ।

शेष शनिवार पनि उही हुलियामा उही भेगमा भेटिए । हरेक दिन बिहान ८ बजे घरमै खानपिन गरेर निस्कने शेषले दिनेभरी उही ठेलाको खरबुजोसँग बिताउँछन् । उनको दैनिकी खासगरी विराटनगरको भाटभटेनीदेखि बरगाछी क्षेत्रमा बित्ने गर्छ ।

उनले खरबुजोको व्यापार गर्न थालेको ४ वर्ष भयो । शेषको दैनिकी उडिसाबाट आएको खरबुजोको डिलरमा जाने, ल्याउने, बजारसम्म पुर्याउने र बेच्ने गर्दै बित्छ । ‘अहिले नेपालकै खरबुजो बजारमा आएको छैन,’ उनले भने, ‘उडिसाबाट थोकमा आउँछ, त्यहाँबाट ल्याएर बजारमा घुमाउने गर्छु ।’

शेषकाअनुसार थोक बजारबाट ल्याएको खरबुजो दैनिक २ क्वीन्टलसम्म विक्री हुन्छ । ‘मैले दैनिक १५० देखि २ सय क्वीन्टलसम्म दैनिक बेच्छु,’ उनले भने–‘यसरी बेच्दा खर्च कटाएर दैनिक १५ सय कमाइ हुन्छ ।’

उनले यही कमाइबाट घरका १४ जनाको परिवार पाल्नुपर्ने आफ्नो बाध्यता सुनाए । ‘मेरो परिवारमा एक छोरा र एक छोरीसहित ४ जना भएपनि १४ जनाको परिवार नै पाल्नुपर्ने हुन्छ,’ उनले भने–‘घरमा सघाउने भाइ छ, ऊ पनि मोटरसाइकल ग्यारेजमा काम गर्छ । कमाइ धेरै छैन ।’

कमाइ राम्रै भएपनि खर्च पनि उही मात्रामा हुने शेषको गुनासो छ । तरपनि घर खर्च गरेर मासिक १५ हजार बचत गर्न पाएकोमा खुसी व्यक्ति गर्छन् । उनी भन्छन्–‘हजुर दिनभरीको तातो घाममा खटिएर काम गर्दा दुःख त हुन्छ नि, तर एक महिनाको हिसाब गरेर जम्मा भएको पैसा देख्दा खुसी लाछ ।’

चैतको पहिलो हप्तादेखि जेठको पहिलो हप्तासम्म खरबुजोको व्यापार गर्ने शेष खरबुजोको सिजन नसकिँदा नसकिँदैन आँपकोे व्यापारमा लाग्ने गरेको सुनाउँछन् । ‘बैशाख सकिँदै गर्दा भारतीय आँप बजारमा आउन थालेको हुन्छ,’ उनले भने– ‘खरबुजोको व्यापार घट्दै जाँदा आँपको व्यापार हुन्छ ।’

प्रतिक्रिया