ओलम्पिकको स्वर्णिम सपना !

  • मनिषा पौडेल

काठमाडौं । ‘म भोलिपर्सि ओलम्पिकमा भाग लिन्छु अनि नेपाललाई स्वर्ण पदक दिलाउँछु ।’ ७ वर्षीय राउल चौधरीको यो वाक्यांशमा उनको दृढ विश्वास मिसिएको छ । उनको स्वर्णिम सपना पनि यहीँ झल्किन्छ । सेन्ट जेभियर्स स्कूलमा कक्षा २ मा अध्ययनरत राउललाई बन्नु छ एउटा राम्रो साइक्लिस्ट अनि दिलाउनु छ नेपाललाई पदक ।

राउललाई बुबा लक्ष्मीप्रसाद चौधरीले दुःख गरेरै भए पनि काठमाडौंको नाम चलेकै स्कूलमा पढाएका छन् । लक्ष्मीप्रसाद सुनाउँछन्– छोरोलाई पहिल्यैदेखि राम्रै स्कूल पढाउने सोच थियो । तर, त्यहाँ पढ्नको लागि इन्ट्रान्स पास गर्छ कि गर्दैन भन्ने थियो । अन्नतः सेन्ट जेभियर्समा नाम निकाल्यो अनि त्यहीँ पढ्यो ।’

तर राउलको इच्छा भने खाली औपचारिक शिक्षा हासिल गर्नु मात्रै होइन, उनको पहिलो इच्छा नै ‘साइक्लिङ’ हो । त्यसो त गैरसरकारी संस्थाका कर्मचारी लक्ष्मीप्रसादले जसोतसो घर खर्च मात्रै धानिरहेका छैनन्, राउलको खुसी पनि किनेकै छन् ।

राउलको बारेमा कुरा गर्दा लक्ष्मीप्रसादको मुहारमा छुट्टै किसिमको सन्तुष्टि झल्कन्छ । त्यसको कारण हो, राउलको आनिबानी र उनको रुची । राउल शान्त स्वभावका छन्, त्यसैले त अन्य बालबालिकाभन्दा फरक पनि छन् । राउलको सबैभन्दा रुचीको काम नै साइक्लिङ गर्नु हो । लक्ष्मीप्रसादले आफ्ना साथीका छोराछोरी, छिमेकीको बच्चाहरुको बारेमा बेलाबेलामा गुनासो सुनिरहन्थे । बच्चाले मोबाइल मात्रै हेर्न खोज्छ, कम्प्युटरमा गेम मात्र खेल्न खोज्छ, सामाजिक छैन । मान्छेहरुसँग घुलमिल नै हुँदैन, यस्तै यस्तै… । तर, लक्ष्मीप्रसादसँग छोरो राउलको मानेमा त्यति धेरै गुनासो छैन । कारण हो, कमसेकम राउलको सानैदेखि ठूलो सपना छ ।

लक्ष्मीप्रसादलाई ‘मेरो छोरो पनि अरुको बालबच्चाजस्तै पो बन्छ कि ?’ भन्ने पिरले नपिरोलेको पनि होइन । तर, राउलको अहिलेको स्कूलिङसँग लक्ष्मीप्रसाद खुसी छन् । किनकी, लक्ष्मीप्रसाद आफैँ पनि साइकलका पारखी हुन् ।

लक्ष्मीप्रसादको घर तराइको सप्तरी जिल्लामा पर्छ । उनी बच्चा बेलादेखि नै साइकल चलाएर हुर्किए । साइकलमै घाँस दाउरा गरे । साइकलमै विद्यालय गए । लक्ष्मीप्रसादले साइकलको महत्व बुझेरै छोरालाई उपहार दिए ‘साइकल’ ।

जतिबेला राउल हिँड्न अनि बोल्न सक्दैनथे– त्यतिबेला नै उनको हातमा साइकल परिसकेको थियो । राहुलले साइकलकै सहायताले उभिन सिके । साइकल समाएरै हिँड्न सिके । उनले चारपाङ्ग्रे साइकलको आडमा हिँड्न सिके । तर हिँड्न र बोल्न सक्ने हुनेबित्तिकै राउलले आफूसँग भएको साइकलको ४ वटा पाङ्ग्रामध्ये सहायक दुई पाङ्ग्रा निकाल्न भने । त्यतिबेला राउल तीन वर्षका मात्रै थिए । अहिले त राउलसँग राइडिङ गर्ने राम्रो तीन वटा साइकल छ । त्यसमध्ये एउटा चाहिँ उनलाई साइक्लिस्टले नै उपहार दिएका हुन् । बाँकी दुई वटा लक्ष्मीप्रसादले किनिदिएका ।

राउल साढे तीन वर्षको हुँदादेखि नै राम्रोसँग साइकल चलाउन सक्थे । राउललाई सुरुमा उनकै बुबाले प्रशिक्षण गराए । राउल ५ वर्ष पुगेपछि काठमाडौंको सडकमा लक्ष्मीप्रसाद आफैँले राउललाई सङ्गै लिएर हिँड्थे ।

राउलकी आमा रेखाकुमारी चौधरी घरगृहस्थी सम्हाल्छिन् । उनलाई भने आफ्नो सानो छोरालाई बुबाले सडकमा साइकल कुदाउन लगाएको पटक्कै मन पर्दैन । लक्ष्मीप्रसाद सुनाउँछन्, ‘छोरालाई साइकल दियो अनि आफू पनि साइकलमै हिँड्यो भनेर घरमा दिनकै झगडा पर्छ श्रीमतीसँग ।’

यद्यपि, रेखाको त्यो असन्तुष्टि जायज भएको मान्छन् लक्ष्मीप्रसाद । ‘काठमाडौंमा हिँड्ने र साइकल चढ्नेलाई मान्छे गन्दैनन् । राम्रा र पक्की सडक त छन्, तर साइकल चलाउने लेन छैन । साइकल चढ्ने वातावरण नै छैन । गाडी र मोटरसाइकलले पेल्छ । दुर्घटनाको सम्भावना धेरै छ, निकै जोगिएर चलाउनुपर्छ । कुपनडोलदेखि जावलाखेल हुँदै मंगलबजारसम्मको ४.७ किलोमिटर साइकल लेन पनि नाम मात्रको साइकल लेन हो । न त्यो मापदण्डअनुसारको छ न त्यहाँ साइकल मात्र गुड्छ । साइकल लेन त मोटरसाइकल पार्किङ्ग पो भएको छ । माइतीघरदेखि तीनकुनेसम्मको ३.१ किलोमिटर साइकल लेनको हालत पनि उस्तै छ । साइकल यात्री त सुरक्षित छैनन् नै, साइकल झन् असुरक्षित छ । लक गरेको साइकल ताल्चा नै काटेर चोरिदिन्छन् । साइकल पार्किङगको सुविधा छैन । त्यही भएर बुढी डराउँछे कतै दुर्घटना पो हुने हो कि भनेर ।’

लक्ष्मीप्रसाद आफ्नी श्रीमतीलाई बुझाउने प्रयास गर्छन्, ‘समाज विकृतितिर उन्मुख छ । बालबालिकाहरु सानै उमेरमा सामाजिक सञ्जाल र लागूपदार्थ दूर्व्यसनीमा फस्छन् । साइकल यस्तो राम्रो लत हो, जुन चलाउने बानी लागेपछि अरु कुलतमा फस्ने सम्भावना कम हुन्छ । त्यसैले छोराको साइकलप्रतिको झुकावले उसलाई सही बाटोमा लानेछ । स्वस्थ हुन त साइकलले झन् ठूलो भूमिका खेल्छ । साइकल वातावरणमैत्री हुन्छ । यसले कुनै प्रदूषण गराउँदैन ।’

सानै उमेरका राउललाई पढाइसँगै साइक्लिस्ट बन्ने सपना पूरा गर्न कम चुनौतीपूर्ण छैन । तर राउल मेहनत गरेर लागिपरेका छन् । साइकलबाटै राउलले काठमाडौंको धेरै डाँडा घुमिसकेका छन् । ककनी, बतासे डाँडा, सेतो गुम्बा, तारेभीर, मुड्खु भञ्ज्याङ, कोतडाँडा जस्तो जङ्गलको कठिन रुटमा पनि राउलले साइकलमा राइड गरिसकेका छन् ।

उनी समाज सेवाको लागि कोष संकलन गर्न धेरै साइकल र्यालीमा सहभागी भइसकेका छन् । उनी ओलम्पिक दिवस, महिनावारी सरसफाइ दिवस, हेरिटेज साइकल र्याली जस्ता साइकल र्यालीमा निरन्तर सहभागी भइरहेका छन् । ‘रन फर चिल्ड्रेन रन टुगेदर’ को केटीएम सिरिजमा राउलले दोस्रो स्थान प्राप्त गरेका थिए । गत महिनाको फागुन २७ गते विश्व वन्यजन्तु दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जमा ५५ किलोमिटर क्रसकन्ट्री साइकलिङ्ग आयोजना गरिएको थियो । त्यसमा राउल पनि सहभागी भएका थिए । जङ्गलको रुटमा भएको उक्त राइडिङमा बाघ भालुजस्ता खतरनाक जङ्गली जनावरसमेत भेटिन्थ्यो । तर त्यही राइडिङमा पनि राउल ५५ किलोमिटर पार गर्नेको पहिलो समूहमा नै परे ।

लक्ष्मीप्रसादले खुसी व्यक्त गर्दै भने– ‘राष्ट्रिय निकुञ्जका पूर्वनिर्देशक बाबुकृष्ण कार्कीले राउलले ५५ किलोमिटर क्रसकन्ट्री पार गरेर आएपछि तालीको गड्गडाहटसहित स्वागत गर्नुभयो । बाबुकृष्ण कार्कीले मेरो आधा महिनाको पेन्सन राउललाई भन्दै रु. १८ हजार नगद पुरस्कारसमेत दिनुभएको थियो । निकुञ्जले आयोजना गरेको उक्त साइकल राइडमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रु. ५१ हजार नगद पुरस्कारसहित राउललाई सम्मान गरे । हाम्रो खुसीको सीमा नै रहेन । हौसला बढ्यो ।’

राउलले अहिलेसम्म कुनै साइक्लिस्टबाट प्रशिक्षण नलिइ राइड गरिरहेका थिए । तर, अब भने राउलको साइकल यात्रालाई निखार्दै लैजाने र प्रतिस्पर्धामा पठाउने तयारी गर्दै छन् लक्ष्मीप्रसाद । राउललाई पेशागत साइकल राइडरमा हुनुपर्ने गुण, साइक्लिस्ट स्टन्ट अभ्यास र साइक्लिङ गर्न फलो गर्नुपर्ने डाइटबारे पढाउन नेपाल साइक्लिङ स्कूलमा भर्ना गरिदिएका छन् । हप्ताको एक दिन शनिवार राउल साइक्लिङ स्कूल जान्छन् । साइक्लिङ जान थालेपछि राउलको जाँगर दोब्बर भएको छ । अरु बेला बिहान स्कूल जान ढिला भयो भन्दै उठाउनुपर्ने राउललाई शनिवार कसैले उठाउनु पर्दैन । आफैँ उठेर साइक्लिङ सूटमा तयार भइहाल्छन् ।

एक महिनामा ४ दिन प्रशिक्षण हुन्छ । राउल साइक्लिङ गर्न प्रेरित गर्नको नाममा पदमेन्द्र कर्माचार्य, डाइमण्ड थापा, सुमन आचार्य, सुजित लामा, रविन थापा, कमला पुनलगायतका साइक्लिस्टको नाम छुटाउँदैनन् । उनी भन्छन्, ‘उहाँहरुले मलाई सधैं हौसला प्रदान गर्नुहुन्छ ।’

लक्ष्मीप्रसादले छोरालाई राम्रो साइक्लिस्ट बनाउने सोचेका छन् । तर लक्ष्मीप्रसादको गुनासो छुट्टै छ । साइकल प्रशिक्षणदेखि राम्रो साइकल खरिद, मर्मत खर्च सबै नेपालमा महङ्गो छ । अनि फेरि साइक्लिङमा दीर्घकालीन भविष्य पनि छैन ।

लक्ष्मीप्रसादले उदाहरण दिँदै भने– ‘साग गेममा गोल्ड मेडल जित्नुभएको रोअन तामाङ अहिले यूएईमा हुनुहुन्छ । त्यस्ता कति च्याम्पियन छन् जसले नेपालमा भविष्य नदेखेर विदेश पलायन हुनुपरेको छ । न उहाँहरुलाई कसैले चिन्छ । न राज्यले नै केही व्यवस्था गर्छ ।’

सरकारले साइकल र साइक्लिस्टलाई प्राथमिकतामा नराखे पनि लक्ष्मीप्रसादले छोराको ओलम्पिक खेल्ने सपनालाई पूरा गर्ने अर्को सपना देखेका छन् ।

प्रतिक्रिया