मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

छनोट !

कथा

  • प्रकाशकुमार शर्मा

“यो सेकेन्ड नम्बरकोलाई बोलाइ दिनुपर्छ कि क्या हो, सर ? ईन्द्र सरले केही अधिकारयुक्त वाणीमा विकास सरलाई भन्यो ।
स्कूल कोअर्डिनेटरको अख्तियारी पाएको विकास सरले सोध्यो, ‘सेकेन्ड नम्बरको भन्नाले ?’

‘त्यही यादव के त । उसको एक्स्ट्राएक्टिभिटिहरू पनि रहेछ । क्यारिकेचर, एक्टिङ्ग पनि राम्रै गर्नेरहेछ । यस्तो कुराहरू बच्चाले चाँडै टिप्छन् पनि । फेरि उसले आफ्नो ठाउँतिर तुरुन्तै कुनै जब पाउला जस्तो पनि छैन । र इम्पोर्टेन्ट कुरो के भने तराईतिरको भएकाले उसलाई हामीले चाहेको अवस्थामा एक्स्ट्रा वर्कमासमेत लगाउन सकिन्छ ।’ विकास सरको सोधाइमा लामै उत्तर दिएर ईन्द्र सरले मतिर हेर्यो र निधारमा हात राख्दै भन्यो, ‘कस्तो टेन्सन भन्या हेर्नुस् न, इङ्गलिस टिचरको भ्याकेन्सी गरेको । सबै एप्लिकेन्टस्हरूबाट सर्टलिस्ट गरेर यी तीन जनालाई बोलाइयो । अब चाहिँ एकजना छान्नुपर्ने कसलाई छान्नु छान्नु; टेन्सन भइसक्यो । सूचीकृत तीन जनाको नाम र सम्पर्क नम्बर भएको कागज उसले मलाई देखायो । म केही भन्न मुख आँ ! गर्दै थिएँ, विकास सर बोल्यो, ‘उसो त यो फर्स्ट नम्बरको थापामा पनि केही खोट छैन । टिचर भई सुहाउने त ऊ पो छ वास्तवमा र उसको क्लास अब्जरभेसन पनि त हेर्यौँ नि हामीले । बाघ छ बूढो बाघ ।’

यतिन्जेल चुप लागि बसेको समाजिक विषय पढाउने कुलानन्द सरले भन्यो– ‘रावललाई कम भन्न मिल्छ र ? आहा पर्सनालिटी नै क्या छ । देख्दा पनि हिरो जस्तै छ । फेरि मार्सल आर्टको खेलाडी हुँ पनि त भन्थ्यो नि । फ्रेस क्यान्डिडेट हो । ठ्याक्कै ब्रिटिस् प्रोनान्सिएसन छ मोराको, केटाकेटीहरूले ट्याप्पै टिप्छन् नि यस्ताको कुरा ।’

“कुरो त ठीकै हो,’ निधार खुम्च्याउँदै ईन्द्र सर बोल्यो– ‘तर नि सर यसले त लेङ्ग्वेस्टिकको कुरो पो गर्थ्यो । फेरि आफ भन्दा ट्यालेन्ट आयो भने त बोर हुन्छ नि । फिस्स हाँसेर उसले सबैका अनुहार छाम्यो । हो त नि भाइस–प्रिन्सिपलको दर्जाको यो नवयुवकलाई आफ्ना प्रतिद्वन्द्वीहरूबाट सदैव डरै त हुँदो हो ।

म विश्वविद्यालयको अन्तिम वर्षको विद्यार्थी र यो ईन्द्र सर यही कीर्तिपुरको रैथाने र यहाँको पुरानो स्कूलको भाइस प्रिन्सिपल र मेरो सहपाठी पनि । ऊ विद्यालयबाट फुर्सद पाएका बेला आफ्ना किताब–कापी हेर्न भ्याउँछ, तर म दिनहुँ कलेज धाउँछु र पढ्ने सामग्री जम्मा गर्छु । क्लासमा सरले पढाउँदा तिनीहरूको अङ्ग्रेजी उच्चारणको शैली हेर्दाहेर्दै पढाएको पाठ के हो भन्ने नै बिर्सिन्छु । अनि पढ्ने सामग्रीहरू त्यो ईन्द्रजीलाई पनि उपलब्ध गराउँछु । ऊ सीमित समयमा तिनै सामग्री पढ्छ र पहिलो वर्षको परीक्षामा उसले मेरै समान अङ्क हासिल गर्यो । रातदिन हाड घोटेको मैले प्रथम श्रेणी ल्याउन सकेँ; यसमै सन्तोष छु, दोस्रो वर्षको परीक्षामा उसले मलाई उछिन्ला सायद ।

त्यही ईन्द्र सरको कार्यकक्षमा आज मलाई शिक्षक छनोटको रमाइलो बहस सुन्ने सौभाग्य मिलेको छ । कारण आज पनि कलेजमा केही पढ्ने सामग्री उपलब्ध गराइएको थियो र म ती सामग्री बोकेर उसको स्कूलमा पुगेको छु । आज हामी पढाइको कुरा गर्न पाइरहेका छैनौँ । किनभने ईन्द्रजी अङ्ग्रेजी शिक्षक छनोटको अनौपचारिक छलफलमा व्यस्त छ । सायद यसको निर्णय प्रिन्सिपलले गर्छ होला तर यतिखेरसम्मको कुराबाट मलाई के थाहा भयो भने सिफारिस चाहिँ अवश्य नै यही ईन्द्रजीले गर्नेछ कसलाई बोलाउने भनेर ।

चुपचाप तिनीहरूको कुरा सुनिरहनु नै बुद्धिमानी हुने देखेर म आफ्ना जिज्ञासु आँखा छलफलमा व्यस्त सरहरूका अनुहारमा दौडाइ बस्छु । किनकि यहाँ म मात्र ईन्द्रजीको मित्र हुँ त्योभन्दा पर गएर यो स्कूलको यति महत्वपूर्ण विषयमा सामेल हुने मेरो कुनै साइनो छैन ।

“साँच्ची भन्या मोरो साह्रै ट्यालेन्ट रैछ”, यद्यपि ईन्द्र सरको भनाइप्रति कसैले प्रतिक्रिया दिएका थिएनन्; ऊ मात्रै त्यो प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत विवरण हेर्दै निधार खुम्च्याउँदै बोलिरहेको थियो । “पूरै ब्रिटिस् प्रोनान्सिएसन छ । भर्खरै डिग्री गरेको । मान्छे असाध्यै ट्यालेन्ट र हक्की जस्तो छ । म्यारिटल स्टेटस् के रैछ खै ? ए म्यारिड नै रहेछ !” यसपटक भने ईन्द्र सरको मुख राम्रै उज्यालो भयो र उसले पालैपालो आफ्ना सहकर्मीहरूलाई हेर्यो, जसरी पहिला हेरेको थियो ।

मैले आफूलाई चुप राख्न सकिनँ यसपाली र सोधेँ, “किन ? वैवाहिक स्थितिको कस्तो रोल हुन्छ र जागिर पाउनु वा नपाउनुसँग ? मलाई त अचम्म लाग्यो ।”

कक्षामा लेक्चर छाँट्न आएको साहित्यको प्राध्यापकको जस्तो अनुहार पार्दै ईन्द्र सर मतिर फर्कएर भन्न लाग्यो, “अनम्यारिडलाई रिक्रुट गर्दा अलिक सोच्नैपर्ने हुन्छ के मित्रजी । मान्छे ह्यान्डसम पनि छ । एट्रयाक्टिभ फिगर छ । कोही फुच्ची लिएर हिँडिदियो भने बित्यास पर्दैन ? स्कूलको प्रेस्टिज कहाँ पुग्यो भन्नुस् त ?”

साथसाथै उसले अर्को कुनै स्कूलमा त्यसतै ह्यान्डसम शिक्षकले गरेको कर्तुत पनि सो उदाहरण त्यहाँ प्रस्तुत गर्यो त्यहाँ । भन्न त उसले मलाई हेरी यो कुरो भनेको थियो, तर मलाई के लाग्यो भने उसले मलाई हैन बरु उसका सहकर्मीहरूलाई यो कुरा भनेको हो र त्यो प्रतिस्पर्धी उम्मेदवारको अयोग्यता प्रस्तुत गरेको हो । तर तिनीहरूले आँ ! गरेर सुनिरहनु बाहेक कुनै प्रतिक्रिया दिएनन् । अन्त्यमा मैले नै बोलेँ; सायद त्यो कुरामा चित्त नबुझेरै होला, “त्यसो भनिहाल्न त नमिल्ला नि ईन्द्र जी । हुनसक्छ स्कुलमा उसले राम्रो विहेभ गर्ला ।”

“कहाँ भन्नु हुन्छ मेरो मित्र आजकालका बच्चीहरू नै उस्तै । आफै ‘आइ लभ यु सर’ भन्न बेर लाउँदैनन् ।” ऊ आफ्नो विचार दृढताका साथ प्रस्तुत गरिरहेको थियो । उसले त एउटा दमदार मसला भेटिसकेको थियो त्यो उम्मेदवारलाई अयोग्य साबित गर्ने । अब म अरु कै नै बहस गर्न सक्थेँ र आश्चर्य पोतिएको अनुहार चारैतर्फ दौडाउन बाहेक !

हो, ईन्द्रजी अब अलिक आश्वस्त र प्रसन्न देखियो । कारण उसलाई टक्कर दिनसक्ने प्रतिस्पर्धीलाई उसले पहिलै ढोका थुन्नुपर्ने अथवा भनौँ ढोकाबाटै बिदा दिनुपर्ने बलियो अस्त्र फेला पारिसकेको थियो । उसका समकक्षीहरू युरोप–अमेरिका आदि देशमहादेश पुगी पैसाको थुप्रो ल्याइसकेको कुरा ऊ बेलाबेलामा मलाई सुनाउँथ्यो र वर्तमानको आफ्नो उपलब्धिप्रति केही असन्तुष्टि व्यक्त गर्थ्यो । तर फेरि घमन्ड पनि गर्नेगर्थ्यो, भन्थ्यो– “यो जिम्मेवारी (भाइस प्रिन्सिपल) लिएर मैले धेरै एक्सपेरियन्स लिने मौका पाएँ । शैक्षिक प्रशासनबारे धरै बुझेँ । सबैभन्दा बढी त आफू भित्रको खुबीलाई बुझेँ । भाइस प्रिन्सिपल भनेर मानिसहरू रेस्पेक्ट गर्छन् । साथीभाइमाझ बेग्लै आइडेन्टिटी छ । यो पनि राम्रै कुरा त हो नि हैन र ?”
आज त्यहीँ पदमा आफूलाई टक्कर दिनसक्ने सम्भावित उम्मेदवार खडा हुने देखिएपछि ईन्द्रजीको मनमा बादल लाग्नु अस्वभाविक पनि त होइन नि । यो जागिरको तानातान, हानथाप र खोसाखोसको कुरा मैले देख्न मात्रै पाएको छु । अब श्रम बजारमा प्रवेश गरेपछि अवश्य पनि मैले यही खिचातानीबाट गुज्रिनुपर्छ होला सायद ।

त्यो प्रतिस्पर्धीको योग्यताले सबै भित्रभित्रै स–शङ्कित थिए क्यार । त्यसपछि त ईन्द्र सरकै बोलीमा लोली मिलाउँदै सबै शिक्षकहरू सही थप्न लागे । स्कूलको प्रेस्टिज धेरैचोटि दोहोरियो । साँच्चै त्यो रावल रन्डो हो र छात्राहरू बिगारेर स्कूल दुर्गन्धित बनाइसक्यो जस्तो इमेज बनाइदिए तिनीहरूले । ओहो विचरो ! रावल त्यस्तै पात्रमा चित्रित भयो र प्रतिस्पर्धाबाटै हट्यो ।

अब पालो थापा र यादवका वैयक्तिक विवरण पल्टाउने थियो ।

“यो थापा कस्तो होला……? झापाली…..! फेरि एजेड छ । आफूभन्दा एजेडलाई त कसरी चलाउनु कजाउनु ? अह्राउन सकिएन भने आफूमाथि हावी होला फेरि । अनि मैना दिनमै जानुस् कसरी भन्नु । बूढो, ट्यालेन्ट त ट्यालेन्ट नै रैछ । पढाउने शैली पनि एकदमै राम्रो हो । तर कजाउन सकिएन भने ?”

भनिरहनु परेन, थापा महोदयको सिभी पनि डम्प गरियो । र अब एक्लो उम्मेदवार यादव रह्यो । मिटिङ सम्पूर्ण रूपले यादवको पक्षमा सहानुभूति राख्न थाल्यो ।

“मधेशको मान्छे, उसलाई काठमान्डुमा टिक्नु छ । भनेको खुरुखुरु मान्ने खालको छ । एक्स्ट्रा आवरमा पनि उसलाई थप काममा लगाउन सकिएला हैन ।” सबैबाट सहमति थाप्ने आशासहित ईन्द्र सरले भन्यो र चारैतिर नजर फ्याँक्यो ।
र अब यादवको पक्षमा बोल्लेहरूबीच पालो उछिन्पाछिन् हुने देखियो । यस्तो सुवर्ण अवसरमा म पनि किन चुक्ने ! भनिदिएँ, “र तपाईँहरूको स्कूल समावेशी चरित्रको पनि हुनेछ । यही यादवलाई नै राख्नुस् है ।”

फाइनल डिलिङ्को लागि अबको पालोमा कोअर्डिनेटर विकास सर यादवको बायोडाटा हेरी नम्बर डायल गर्दै थियो ९८०३२…….

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com