आर्मी र श्रीलंका पुलिसको खेल हेर्न ३ सय र ५ सय

काठमाडौं । एएफसी कप फुटबलको प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लबले र श्रीलंका पुलिस स्पोर्टस क्लबबीचको खेल हेर्ने दर्शकको लागि मूल्य निर्धारण गरिएको छ ।

त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस क्लबसँग हुने खेलको लागि दशरथ रंगशालामा आउने दर्शकको टिकट मूल्य तोकेको हो । चैत २५ गते बुधबार दशरथ रंगशालामा दिउँसो ३ बजे आर्मी फुटबल क्लब र श्रीलंका पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । आर्मीले साधारणतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकेको हो ।

आर्मीले लामो समयदेखि एएफसी कपको प्लेअफ खेललाई मध्यनजर गर्दै अभ्यास गरिरहेको छ । यसैक्रममा आर्मीले ओलम्पिकको तयारी गरिरहेको कीर्गिस्तानको यु–२३ टिमसँग प्रतिस्पर्धा गरेको थियो । जसमा आर्मीले गोलरहित बराबरी खेल्दै सन्तोषजनक नतिजा निकालेको थियो । त्यो खेलमा आर्मीका कप्तान भरत खवास र मुख्य गोलपिकर विकेश कुथु थिएनन्। नेपालले थ्री नेसन्स कपको उपाधि जितेसँगै भरत र विकेश आर्मीको अभ्यासमा फर्किसकेका छन् ।

एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया