रामोसले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने

काठमाडौं । रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलका खेल गुमाउने भएका छन् । घाइते भएका कप्तान रामोसले क्वाटरफाइनलमा लिभरपुलविरुद्धको दुवै लिग गुमाउने भएका हुन् ।

३५ वर्षीय रामोसले स्पेनबाट अन्तर्राष्ट्रिय खेल खेल्दा घाइते भएका थिए । स्पेनले विश्वकप फुटबलको युरोपियन छनोटमा तीन खेल खेलेको थियो। समूह ‘बी’ मा रहेको स्पेनले तीन खेलबाट सात अंक बनाएको छ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबारसँग शनिबार राति प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियन्स लिगमा रियलले इंग्लिस क्लब लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेगमा ७ तारिखमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, ११ तारिखमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ। यसपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा १५ तारिखमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेलमा कप्तान रामोस भने रियलका लागि उपस्थित हुने छैनन् ।

रामोसले रियलमा १६ वर्ष बिताइसकेका छन् । उनी २००५ मा सेभियाबाट रियल पुगेका थिए । उनले रियलबाट दर्जन बढी उपाधि जितेका छन् ।

प्रतिक्रिया