म्यान्मारको स्थिति नियन्त्रणबाहिर जान सक्ने खतरा !

काठमाडौं । म्यान्मारको स्थिति नियन्त्रणबाहिर जान सक्ने खतरा बढेको छ । त्यहाँस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिले स्थिति नियन्त्रणबाहिर जान सक्ने खतरा औँल्याएका हुन् ।

आवासीय प्रतिनिधिले एन्ड्रूय कर्कवूडले सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने चेतावनी दिए । सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको उनको भनाई छ ।

उनका अनुसार म्यान्मारमा सैन्य ‘कू’यता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशत गोली प्रहारबाट मारिएका छन् । ती मध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालित गरिएको कर्कवूडले बताए ।

कडा निन्दा
शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ । एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो ।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए । अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो । सेभ द चिल्ड्रेनका अनुसार सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन् ।

सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ । एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कूयता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ ।

सू चीविरुद्ध गम्भीर अभियोग
यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ । सू चीसहित उनका चारजना साझेदारमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो ।

आमनिर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो । -बीबीसी

प्रतिक्रिया