एपिएफ र पुलिसको विजयी सुरुवात

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले पाँचौं आरबिबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

दशरथ रंगशालामा बिहीबारबाट सुरु भएको लिग भलिबल च्याम्पियनसिपमा एपिएफ र पुलिसले जित निकालेका हुन्।

एपिएफ क्लब र बुलबुले रारा क्लबलाई ३–१ सेटले पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले हराएको एपिएफ तेस्रो सेटमा भने २५–१८ ले पराजित भयो । चौथो सेटमा भने एपिएफले ३२–३० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

त्यस्तै, यसअघि भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा पराजित गर्न सफल भयो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५–०९, २५–२१ र २५–१६ ले पराजित गरेको हो । महिलातर्फ बिहीबार नै भएको खेलमा न्यू डायमण्डले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नै जित निकाल्दै न्यू डायमण्डले महत्वपूर्ण तीन अंक बटुलेको छ । डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–०६, २५–०२ र २५–०५ ले पराजित गरेको हो ।

दशरथ रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले गरे ।

प्रतिक्रिया