नेरी थापाको कप्तानीमा लुम्बिनी प्रदेशको टिम घोषणा

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेश टिमको घोषणा भएको छ । बिहीबार लुम्बिनी र कर्णालीको प्रादेशिक क्रिकेट संघले लुम्बिनी प्रदेश क्रिकेट टिमको घोषणा गरेको हो ।

प्रादेशिक क्रिकेट संघले नेरी थापाको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा उपकप्तानको जिम्मेवारी भने सरस्वती पुनले पाएकी छिन् । अन्य खेलाडीमा सवातिका बजगाईं, सरिता जिसी, सरस्वती जिएम, सर्मिला रोक्का मगर, लक्ष्मी चौधरी, मधु डिसी, कृतिका मरासैनी, नितु भण्डारी, एलिशा केसी, वर्षा राना, सुश्मिता भूषाल र जिज्ञाशा थापा रहेका छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीहरुमा आष्मा पुलामी, सोनाम पुन र कृति सेन रहेका छन्। मुख्य प्रशिक्षकमा सन्जु क्षेत्री रहँदा टिम म्यानेजरमा उमा अधिकारी छिन् ।

चैत २१ गतेदेखि २८ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिम छन्। जसमा ललितपुर मेयर एघारसँगै, सशस्त्र प्रहरी बलको एपिएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश रहेका छन् ।

चैत २१ गते दुई खेल हुँदै छन्। पहिलो खेल प्रदेश १ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर–११ टिमबीच खेल हुनेछ । प्रतियोगितामा दोस्रो दिन चैत २२ गते पहिलो खेल ९ बजे एपिएफ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । दोस्रो खेल ललितपुर मेयर–११ र लुम्बिनी प्रदेशबीच हुनेछ। तेस्रो दिन २३ गते एक खेल दिउँसो १ बजे लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ ।

प्रतियोगितामा चौथो दिन चैत २४ गते पहिलो खेल बिहान ९ बजे ललितपुर मेयर-११ र एपिएफबीच तथा दोस्रो खेल दिउँसो १ बजे प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । पाँचौं दिन चैत २५ गते बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच एक खेलमात्र हुनेछ ।

चैत २६ गते बिहान ९ बजे ललितपुर मेयर-११ र प्रदेश १ तथा दिउँसो १ बजे लुम्बिनी प्रदेश र एपिएफले खेल्नेछन् । लिगको खेल सकिएपछि अंक तालिकाको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल चैत २८ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा विजेता टिमले तीन लाख र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सम्यानले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया