भारतमा कोरोना भाइरसबाट एकै दिन ४५९ को मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४५९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेको यो संख्या यो वर्ष शुरु भएयताकै सबैभन्दा धेरै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या एक लाख ६२ हजार ९२७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।

गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिन भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या करिब ९ हजार एक सय पुगेको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुमै सबैभन्दा कम थियो ।

हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजारभन्दा बढी पुगेको छ ।

कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया