कीर्गिस्तान जाने जुडो टोलीको बिदाइ

काठमाडौं । एसियाली ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरिएको छ ।

शुक्रबार कीर्गिस्तानको बिस्केक प्रस्थान गर्ने नेपाली जुडो टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बिदाइ गरे । अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गनेएछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । देविका र पुनमले १३ औं सागका स्वर्ण विजेता हुन् । इन्द्रले रजत तथा सोनियाले कास्य जितेका थिए ।

ओलम्पिक र्‍याङकिङका रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ । टोली प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन् ।

जुडो संघका महासचिव समेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्नेछन् । स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्राकार पनि टोलीसागै कीर्गिस्तान जाँदैछन् ।

अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी समितिको बैठक र जेयुए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयुए कंग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बिस्केक पुगिसकेका छन् । महासचिव श्रेष्ठ पनि जेयुए जोन बैठकमा सहभागी हुने बताइएको छ ।

 

प्रतिक्रिया