इटालीको लगातार तेस्रो जित

काठमाडौं । इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो ।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २-० गोलअन्तरले पराजित गरेको हो । इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो ।

खेलको ४७ औं मिनेटमा स्टेफानोले गोल गर्दै इटालीलाई दोस्रो हाफको सुरुमै अग्रता दिलाए । खेलको अतिरिक्त समयमा इम्मोबिले पेनाल्टीबाट गोल गर्दै इटालीलाई २-० गोलको जित दिलाए । समूह ‘सी’ मा नै रहेको अर्को खेलमा बुल्गेरिया र नर्थन आयरल्यान्डले भने गोलरहित बराबरी खेलेका छन् ।

इटालीको यो लगातार तेस्रो जित हो। यसअघि पहिलो खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० र दोस्रो खेलमा बुल्गेरियालाई पनि २-० गोलअन्तरले नै पराजित गरेको थियो । जितसँगै इटालीले तीन खेलबाट ९ अंक बनाएको छ ।

स्वीट्जरल्यान्डको भने दुई खेलबाट ६ अंक छ । त्यस्तै, दुई खेल खेलेको नर्थन आयरल्यान्ड र तीन खेल खेलेको बुल्गेरियाको समान १-१ अंक हुँदा दुई खेल खेलेको लिथुनिया भने अंक बिहीन छ ।

प्रतिक्रिया