एनएसजेएफ एकेडेमी सुरुवात

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ । काठमाडौंमा बुधबार विशेष समारोहको आयोजना गरी मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो ।

मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यले एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ । मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनिक गरेको हो । तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे । ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग विना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका खेल्नेछ’, उनले भने ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए । उनले भने, ‘मन्त्रालयले सधैं सहयोग गर्नेछ । यो एकेडेमीले संख्यात्मक र गुणात्मक सफलता पाउँदै जाओस् । यो एकेडेमीले नेपाली खेलकुदको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने बताए । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्यसचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए । त्यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया