विश्वकपको युरोपियन छनोट : फ्रान्स, जर्मनी, इटाली, स्पेनले खेल्दै

काठमाडौं । विश्वकपको युरोपियन छनोट फुटबलमा आज (बुधबार) राति १५ खेल हुँदैछन् । जसमा विश्वविजेता फ्रान्स, जर्मनी, इटाली, स्पेन, इंग्ल्यान्ड लगायतका टिमले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘डी’ मा रहेको विश्वविजेता फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२:३० बजे सुरु हुनेछ। फ्रान्सले दुई खेलबाट चार अंक बनाएको छ । यसअघि फ्रान्सले पहिलो खेलमा युक्रेनसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने फ्रान्सले काजकिस्तानलाई २–० गोलले हराएको थियो । यसै समूहमा रहेको युक्रेनले १:३० मा नै काजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘जे’ मा रहेको जर्मनीले राति १२ः३० मा नर्थ मासेडोनियासँग खेल्दैछ । जर्मनी लगातार तीन खेलमा जित निकाल्ने दाउमा छ । यसअघि जर्मनीले पहिलो खेलमा आइसल्यान्डलाई ३–० र दोस्रो खेलमा रोमानियालाई १–० ले हराएको थियो । शीर्ष स्थानमा रहेको जर्मनीको दुई खेलबाट चार अंक छ । यसै समूहमा रहेको अर्मेनियाले रोमानियासँग नेपाली समय अनुसार ९:४५ बजे प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, लिच्टेनस्टाइन र आइसल्यान्डबीचको खेल १२:३० मा सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको इटालीले लिथुनियासँग १२ः३० मा प्रतिस्पर्धा गर्दैछ । यसै समूहमा रहेको बुल्गेरिया र नर्थन आयरल्यान्डबीच पनि प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ मा रहेको स्पेनले आफ्नै मैदानमा कोसोभोसँग नेपाली समयअनुसार १२:३० बजे प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, ग्रिस र जर्जियाबीच यही समयमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष स्थानको इंग्ल्यान्डले आफ्नै मैदानमा पोल्यान्डसँग १२:३० बजे प्रतिस्पर्धा गर्दैछ । यसै समूहमा रहेको हंगेरीले एन्डोरासँग प्रतिस्पर्धा गर्दा अल्बानियाले सान मारिनोसँग खेल्दैछन् ।

त्यस्तै, समूह ‘एफ’ मा अस्ट्रियाले डेनमार्कसँग खेल्दा मोल्डोभाले इजरायलसँग, स्कटल्यान्डले फारोई आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया