मन्त्री उषाकलाको योजना– ब्याण्ड भर्सेस ब्राण्डलाई मुख्य प्राथमिकता

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश नं. १ की सरकारकी सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशमा युवालाई रोजगारी सिर्जना गर्नका लागि ब्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि सारिने बताएकी छन् । सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकार सम्मेलन गर्दै मन्त्री राईले नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ्ग गर्ने योजनाबारे कानूनी र व्यवहारिक पक्षको अध्ययन गरी लागिपर्ने बताएकी हुन् ।

मन्त्री राईले आफ्नो कार्यकालमा कानून निर्माण गरी यसको अप्ठेरा र सजिला पक्षको बारेमा अध्ययन गरी कार्यान्वयनमा लगिने बताएकी हुन् । ‘मैले मन्त्रालयमा आएपछि यो बारेमा छलफल गरेर मुख्यमन्त्रीज्यूसँग पनि कुराकानी गरिसकेको छु,’ मन्त्री राईले भनिन्, ‘यो विषयमा क्याबिनेटमा प्रवेश पाइसकेको छ, यसमा मुख्यमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ ।’

मन्त्री राईले आफ्नो योजनाको बारेमा जानकारी दिन अयोजना गरेको पत्रकार सम्मेलनमा अब विदेशमा रहेका नेपाली दाजुभाइलाई स्वदेशमा नै रोजगारी दिने सजिलो माध्यम भनेको कोदोको रक्सीको ब्राण्ङ्गि भएको बताइन् । आफूले आफ्नो योजना प्रस्तुत गरेकोले यो कार्यान्वयन गर्ने बारेमा सबै सरोकारवालाका बिचमा छलफल हुने समेत बताइन् ।

केही कानूनी जटिलताहरु रहेकोले ती कानूनी जटिलतालाई फुकाएर जान सकिने उनको तर्क छ । उनले कोदोको रक्सीसँगै गाँजा र रक्तचन्दन पनि नेपालको समृद्धिको मुख्य आधार भएको बताइन् ।

कोभिड अस्पताल सबै जिल्लामा
मन्त्री राईले आफ्नो योजना सार्वजनिक गर्दै पहिलो प्राथमिकतामा अस्पतालको फोहोरमैला व्यवस्थापनलाई लिएकी छन् । उनले स्वास्थ्य बीमा कार्यक्रमले नसमेटेका र पैसा अभावमा उपचार गर्न नसक्ने गरिब जनतालाई उपचारको व्यवस्था मिलाउन आवश्यक कार्यविधि र मापदण्ड बनाएर अघि बढ्ने बताएकी छिन् । उनले एक स्थानिय तह एक अस्पतालको अवधारणअनुसार ४५ वटा स्थानीय तहमा १५ बेडको अस्पताल सिलान्यास भएर काम शुरु भएको जानकारी दिइन् ।

उनले कोडिभ बढ्न सक्ने भएकोले विराटनगरको कोभिड– १९ उपचार केन्द्रलाई पुनः संचालन गरिने बताइन् । ‘कोशी कोभिड अस्पताल पुनः संचालनको तयारीमा छौँ,’ मन्त्री राईले भनिन्, ‘सबै जिल्ला अस्पताललाई १० बेडसम्मको कोभिड आइशोलेशन वार्ड तयार गरी उपचारको लागि निर्देशन दिइनेछ ।’

आफ्नो योजनामा उनले प्रदेश मातहतमा रहेका सबै अस्पताललाई ५० बेडको बनाइने, मेची अस्पताललाई २ सय बेडको बनाई प्रादेशिक अस्पताल बनाइने तथा धनकुटा जिल्ला अस्पताललाई एक सय बेडको अस्पतालमा स्तरोन्नती गरिने दाबी गरेकी छन् ।

प्रतिक्रिया