ब्राजिलमा तीनवटै सेना प्रमुखले दिए एकसाथ राजीनामा

ब्रासिलिया । ब्राजिलमा सेना, नौ सेना र हवाई सेनाका प्रमुखहरुले एकसाथ राजीनामा दिएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिइएको बताइएको छ ।

राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक संकट झेलिरहेको यस अवस्थामा पुनः सेनातर्फका तीनवटा उच्च पदबाट राजीनामा आएको समाचारमा जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौ सेना तथा हवाई सेनाका प्रमुखहरुले एकसाथ राजीनामा दिएको यहाँको इतिहासमै सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।

गत सोमबारमात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौ सेना र हवाई सेनाका प्रमुखहरुको राजीनामा आएको बताइएको छ ।

सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ । कोरोना भाइरस सङ्क्रमणदर वृद्धि हुने देशमा विश्वकै दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।

ब्राजिलमा कोरोना संक्रमणका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया