कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उठाउँछौँ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उठाउने बताएका छन् । बुधबार काठमाडौंमा आफू निकटको युवा संघ नेपालको कार्यालयको उद्घाटन गर्दै नेता नेपालले आफू कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ भन्ने मानसिकतामा रहेको र अब त्यसैगरी उठाउने पनि बताए ।

कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्पसमेत नेता नेपालले गरे । त्यसका लागि देशैभरका कम्युनिष्ट आन्दोलन र एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारेका नेता नेपालले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौँ । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ । कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ ।’

आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए । ‘हामी सामाजिक न्यायसहितको आर्थिक रुपान्तरणको पक्षमा छौँ,’ नेता नेपालले भने, ‘विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिन्छ ।’

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाटै कारबाही गरेका छन् । तर, यो समूहले ओलीको कारबाहीमाथि नै प्रश्न उठाउँदै आफूहरुले नमान्ने बताइरहेको छ ।

प्रतिक्रिया