कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला

काठमाडौं । वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरेपनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् ।

सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन् ।

वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन् ।

वायु प्रदूषणले यतातिर समस्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको सल्यानको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।

लामो समयसम्म कोभिड-१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ ।

मंगलबार एक पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो ।

प्रतिक्रिया