बिहारमा भेटिए महोत्तरीबाट बेपत्ता ७ बालिका/किशोरी

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मपुरबाट घाँस काट्न जाँदा सम्पर्कविहीन भएका ७ बालिका/किशोरी भारतमा भेटिएका छन् । मंगलबारदेखि सम्पर्कविहीन भएका उनीहरु भारत, विहारको सीतामढीमा भेटिएका हुन् ।

उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले मकालु खबरलाई जनाकारी दिए । उनका अनुसार सबै बालिका किशोरी सकुशल छन् ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका उनीहरू फर्किएका थिएनन् । ‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ,’ प्रजिअ भट्टराईले भने, ‘त्यसपछि उनीहरूलाई घर-परिवारको जिम्मा लगाइन्छ ।’

सम्पर्कविहीन हुनेमा १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान छन् ।

प्रतिक्रिया