एउटै टोलका ७ बालिका र किशोरी सम्पर्कविहीन

काठमाडौँ । महोत्तरीमा घाँस काट्न निस्केका बालिका र किशोरी सम्पर्कविहीन भएका छन् । जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना बालिका र किशोरी सम्पर्कविहीन भएका हुन् ।

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू आज बिहानसम्म सम्पर्कविहीन छन् । महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार उनीहरू १० वर्षदेखि १८ वर्ष उमेर समूहका छन् । १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन सम्पर्कविहीन रहेको एसपी आचार्यले जानकारी दिए ।

उनीहरू सधैं समूहमै घाँस काट्न जान्थे तर, मंगलबार साँझसम्म नफर्केपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । ‘हामीले सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै खोजी गरिरहेका छौं,’ एसपी आचार्यले भने, ‘अहिले (बिहान साढे ८ बजे)सम्म फेला पारिएको छैन ।’

प्रतिक्रिया