ब्रजिलका सेना प्रमुखले किन दिए एकसाथ राजीनामा

काठमाडाैँ । राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक सङ्कट जेलिरहेका बेला ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन् ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ । सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए ।

कोरोना महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ । दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।

जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहिआएको छ । कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर “हल्ला बन्द गर्न” पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन् ।

ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो विकासक्रम उनका निम्ति कति गम्भीर छ ?
राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ ।

बोल्सोनारुप्रति वफादार मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो । चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेशमन्त्रीमाथि आरोप थियो ।

विदेशमन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमवारै राजीनामा दिएका थिए । २०१९ को ज्यानुअरीमा बोल्सोनारुले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ । –बीबीसी

प्रतिक्रिया