‘खुवालुङ फुटाउने हल्ला निराधार’

विराटनगर । उदयपुर, भोजपुर र धनकुटाको सिमानामा रहेको सप्तकोशीको बिचमा रहेको ढुंगा (खुवालुङ) हटाउने सरकारको कुनै योजना नरहेको प्रदेश सरकारले स्पष्ट पारेको छ । खुवालुङको अवस्थाको बारेमा स्थलगत अध्ययनको लागि पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने भनेर गलत हल्ला चलाईएको बताएका हुन् ।

सप्तकोशीको बिचमा रहेको खुवालुङ फुटाएर लग्ने भन्ने बारेमा संघीय सरकार र प्रदेश सरकारले कुनै योजना नरहेको पनि उनले स्पष्ट पारे । खुवालुङ किराँत समुदाको संस्कृति र आस्थासँग जोडिएको बिषयमा सरकार गम्भीर रहेको बताए । ‘खुवालुङको बारेमा संघ र प्रदेशमा कहीँ कतै पनि सरकारी संयन्त्रमा छलफल हुँदै नभएको बिषय उठाईएको छ, उनले भने, खुवालुङलाई तोड्न र फोड्न लागेको भनेर गलत प्रचार गरिएको छ, यति सत्य हो प्रदेश सरकारले प्रारम्भिक सर्वेक्षण गरेको हो ।’

सांस्कृतिक ऐतिहासिक स्थलको संरक्षण गर्दै धार्मिक सांस्कृतिक केन्द्रको रुपमा विकास गरि, समृद्धि र जनताको विकाससँग जोडेर लैजाने बारेमा अहिले अध्ययन गर्ने काम भएको उनको भनाई छ । समृद्धिको एउटा आधार प्रदेश १ को सप्तकोशी भएकोले यसको सम्भावित अध्ययन गर्दै गर्दा खुवालुङ पत्ता लागेको मुख्यमन्त्री राईले बताए ।

प्रारम्भिक अध्ययनकै क्रममा खुवालुङको कुरा आएपछि अब यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर प्राबिधिक टिमसहित आएर अवलोकन गरिएको मुख्यमन्त्री राईले स्पष्ट पारे । उनले सबैको सहभागीता र उपस्थितीमा यसलाई धार्मिक र सांस्कृतिक केन्द्र बनाउन अब छलफल केन्द्रित हुने बताए । प्रबिधिक टिमले पनि फोड्ने र तोड्ने नगरी दुबै तर्फबाट जहाज चलाउन सक्ने बताएकोले अब यसलाई कसरी अघि बढाउने भन्नेमा बारेमा छलफल थालिने मुख्यमन्त्री राईले बताए । उनले जलमार्गलाई दोलालघाट र किमाथांकासम्मको अध्ययन गरिएकोले प्राथमिकतालाई राखेर प्रारम्भीक तहको सर्वेक्षण गरेको जानकारी दिए । उनले यस क्षेत्रको विस्तृत अध्ययन गरेर जलयातायातलाई व्यवस्थित गरिनेसमेत दाबी गरेका छन् ।के भन्छन् प्राबिधिक
सप्तकोशीले नदी तटीय क्षेत्रको कटानको बारेमा अध्ययन गर्दै आएको ‘डोर वे ईन्टरनेशनल’लाई जल यातायातको अबस्थाको बारेमा अध्ययन गर्न प्रदेश सरकारले आग्रह गरेको थियो । प्रदेश लगानी प्राधिकरण र डोर वे ईन्टरनेशनलले टोलीले यसको प्रारम्भिक अध्ययन गरेको हो ।

चतरादेखि दोलालघाटसम्मको लागि जलयातायात संचालनको गर्न २६४ किलोमिटर रहेको प्राबिधिक टोलीले जनाएको छ । तत्काललाई ३० किलोमिटरसम्म सहजै पानी जहाज चल्न सक्ने डेर वे ईन्टरनेशनका अध्यक्ष बिपुलराज पाण्डेले बताए । पाण्डेका अनुसार चतरादेखि ३० किलोमिटर भासुसम्म सहजै जहाजमा पुग्न सकिने छ । यी ठाउँहरुमा पानी नहुने समयमा पनि पानीको सतह २ मिटरदेखि २० मिटरसम्म रहेको छ ।

प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज काेइरालाले प्रदेश सरकारले बजेट पनि नछुट्याएको र फुटाउने बारेमा पनि कुनै निर्णय नगरेको बताए । हामीले यहाँको करिब ५ पटकजति प्रारम्भिक अध्ययनको काम गरिसकेका छौँ, उनले भने, अहिलेलाई हामीले भासुसम्मको जहाज चल्ने क्षेत्रको पानीको अबस्था मापन गर्न ‘बाथामेटिक स्टडी’ भईरहेको छ ।’

धार्मिक ऐतिहासिक स्थल बनाउ
किराँत राई यायोख्खाले गलत हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ । इतिहास बोकेको खुवालुङको ऐतिहासिकता मेटाउन नहुने भन्दै उनीहरुले यसलाई संरक्षण गरेर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजान आग्रह गरे ।

किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले यसको खुवालुङसंरक्षण समिति नै बनाएर नै अहिले संरक्षण समिति बनाएर काम भईरहेको बताए । किराँत समुदायका अगुवा र सरकार सहित अधिकारीहरुको संयुक्त स्थलगत अध्ययन पछि किराँतीहरुको आस्थाको हब बनाउन यसको संरक्षणको लागि अघि बढ्ने बारेमा छलफल भएको राईको भनाई छ ।

प्रतिक्रिया