‘खुवालुङ फुटाउने हल्ला निराधार’

विराटनगर । उदयपुर, भोजपुर र धनकुटाको सिमानामा रहेको सप्तकोशीको बिचमा रहेको ढुंगा (खुवालुङ) हटाउने सरकारको कुनै योजना नरहेको प्रदेश सरकारले स्पष्ट पारेको छ । खुवालुङको अवस्थाको बारेमा स्थलगत अध्ययनको लागि पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने भनेर गलत हल्ला चलाईएको बताएका हुन् ।
सप्तकोशीको बिचमा रहेको खुवालुङ फुटाएर लग्ने भन्ने बारेमा संघीय सरकार र प्रदेश सरकारले कुनै योजना नरहेको पनि उनले स्पष्ट पारे । खुवालुङ किराँत समुदाको संस्कृति र आस्थासँग जोडिएको बिषयमा सरकार गम्भीर रहेको बताए । ‘खुवालुङको बारेमा संघ र प्रदेशमा कहीँ कतै पनि सरकारी संयन्त्रमा छलफल हुँदै नभएको बिषय उठाईएको छ, उनले भने, खुवालुङलाई तोड्न र फोड्न लागेको भनेर गलत प्रचार गरिएको छ, यति सत्य हो प्रदेश सरकारले प्रारम्भिक सर्वेक्षण गरेको हो ।’
सांस्कृतिक ऐतिहासिक स्थलको संरक्षण गर्दै धार्मिक सांस्कृतिक केन्द्रको रुपमा विकास गरि, समृद्धि र जनताको विकाससँग जोडेर लैजाने बारेमा अहिले अध्ययन गर्ने काम भएको उनको भनाई छ । समृद्धिको एउटा आधार प्रदेश १ को सप्तकोशी भएकोले यसको सम्भावित अध्ययन गर्दै गर्दा खुवालुङ पत्ता लागेको मुख्यमन्त्री राईले बताए ।
प्रारम्भिक अध्ययनकै क्रममा खुवालुङको कुरा आएपछि अब यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर प्राबिधिक टिमसहित आएर अवलोकन गरिएको मुख्यमन्त्री राईले स्पष्ट पारे । उनले सबैको सहभागीता र उपस्थितीमा यसलाई धार्मिक र सांस्कृतिक केन्द्र बनाउन अब छलफल केन्द्रित हुने बताए । प्रबिधिक टिमले पनि फोड्ने र तोड्ने नगरी दुबै तर्फबाट जहाज चलाउन सक्ने बताएकोले अब यसलाई कसरी अघि बढाउने भन्नेमा बारेमा छलफल थालिने मुख्यमन्त्री राईले बताए । उनले जलमार्गलाई दोलालघाट र किमाथांकासम्मको अध्ययन गरिएकोले प्राथमिकतालाई राखेर प्रारम्भीक तहको सर्वेक्षण गरेको जानकारी दिए । उनले यस क्षेत्रको विस्तृत अध्ययन गरेर जलयातायातलाई व्यवस्थित गरिनेसमेत दाबी गरेका छन् ।
के भन्छन् प्राबिधिक
सप्तकोशीले नदी तटीय क्षेत्रको कटानको बारेमा अध्ययन गर्दै आएको ‘डोर वे ईन्टरनेशनल’लाई जल यातायातको अबस्थाको बारेमा अध्ययन गर्न प्रदेश सरकारले आग्रह गरेको थियो । प्रदेश लगानी प्राधिकरण र डोर वे ईन्टरनेशनलले टोलीले यसको प्रारम्भिक अध्ययन गरेको हो ।
चतरादेखि दोलालघाटसम्मको लागि जलयातायात संचालनको गर्न २६४ किलोमिटर रहेको प्राबिधिक टोलीले जनाएको छ । तत्काललाई ३० किलोमिटरसम्म सहजै पानी जहाज चल्न सक्ने डेर वे ईन्टरनेशनका अध्यक्ष बिपुलराज पाण्डेले बताए । पाण्डेका अनुसार चतरादेखि ३० किलोमिटर भासुसम्म सहजै जहाजमा पुग्न सकिने छ । यी ठाउँहरुमा पानी नहुने समयमा पनि पानीको सतह २ मिटरदेखि २० मिटरसम्म रहेको छ ।
प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज काेइरालाले प्रदेश सरकारले बजेट पनि नछुट्याएको र फुटाउने बारेमा पनि कुनै निर्णय नगरेको बताए । हामीले यहाँको करिब ५ पटकजति प्रारम्भिक अध्ययनको काम गरिसकेका छौँ, उनले भने, अहिलेलाई हामीले भासुसम्मको जहाज चल्ने क्षेत्रको पानीको अबस्था मापन गर्न ‘बाथामेटिक स्टडी’ भईरहेको छ ।’
धार्मिक ऐतिहासिक स्थल बनाउ
किराँत राई यायोख्खाले गलत हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ । इतिहास बोकेको खुवालुङको ऐतिहासिकता मेटाउन नहुने भन्दै उनीहरुले यसलाई संरक्षण गरेर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजान आग्रह गरे ।
किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले यसको खुवालुङसंरक्षण समिति नै बनाएर नै अहिले संरक्षण समिति बनाएर काम भईरहेको बताए । किराँत समुदायका अगुवा र सरकार सहित अधिकारीहरुको संयुक्त स्थलगत अध्ययन पछि किराँतीहरुको आस्थाको हब बनाउन यसको संरक्षणको लागि अघि बढ्ने बारेमा छलफल भएको राईको भनाई छ ।









