प्रदेश १ : बन्याे पत्रकार महासंघकाे भवन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकार महासंघकाे भवनको उद्घाटन गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ काे नवनिर्मित कार्यालय भवनकाे उद्घाटन तथा मेराे पत्रकारिता पुस्तक विमाेचन समारोहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री राईले प्रदेश संरचना संस्थागत गर्ने काम महासंघले गरेकाे बताएका हुन् ।

पत्रकार नागरिक स्वतन्त्रताका लागि पनि उभिएको महासंघले मुलुककाे समृद्धिका लागि पनि भूमिका खेल्न उनले आग्रह गरे ।उनले राजनीतिक स्थायित्वपछि सुशासनको बाटाेमा अघि सरेकाे अवस्थामा अब विकासका मुद्दालाई अघि सार्न आग्रह गरे ।

महासंघको नवनिर्मित भवन ७६ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे । ३४ जनाकाे अनुभव समेटिएको पुस्तक मेराे पत्रकारिता पनि महासंघले नै सार्वजनिक गरेकाे हो । पुस्तकमा आफ्नाे अनुभव लेख्ने पत्रकारहरूलाई महासंघले सम्मानसमेत गरेकाे छ ।

कार्यक्रममा बाेल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारले लेखेका‚ देखेका कुराले समाजलाई दिशानिर्देश गर्ने भएकाले पत्रकारले गर्ने समाचार तथ्यमा आधारित हुनुपर्ने बताए । सबै मिलेर पत्रकारितालाई व्यवस्थित रूपमा लैजान आग्रह गर्दै पेशागत र सामुहिक संस्थामा सहमतिमा नेतृत्व छान्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गाेविन्द आचार्यले प्रदेश १ विवादरहित प्रदेशकाे रूपमा स्थापित भएकाे बताए । पत्रकारकाे चुनाव भव्य र निष्पक्ष रूपमा सम्पन्न गर्न उनले देशभरका महासंघलाई आग्रहसमेत गरेका छन् ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले पत्रकारितामा प्रदेश १ अब्बल रहेको बताए । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरले उपलब्ध गराएकाे जग्गाकाे सही सदुपयोग भएकाे समेत उल्लेख गरे । आफ्नाे नयाँ भवनलाई अनुसन्धान केन्द्रकाे रूपमा विकास गर्न पराजुलीले महासंघलाई सुझाव दिए ।

कार्यक्रममा उपाध्यक्ष साेमनाथ सुसेलीले नयाँ संरचनासँगै स्थापना भएकाे प्रदेश पत्रकार महासंघको पहिलाे कार्यकालमा नै भवन निर्माण गर्नुलाई मुख्य उपलब्धि रहेकाे बताए ।

प्रतिक्रिया