नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौं । आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बंगलादेशविरुद्ध २-१ गोलको जित निकाल्दै नेपालले उपाधि जितेको हो ।

दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि पहिलो उपाधि जितेको हो । नेपालले दशरथ रंगशालामै राष्ट्रिय टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टिमको समग्रमा भने यो पाँचौं उपाधि हो ।

नेपालले १९८४ को उपाधिपछि उस्तै उपाधि १९९३ मा पनि जितेको थियो । त्यसपछि २०१६ मा नेपालले बंगबन्धु र एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरे । यता, बंगलादेशका लागि महबुबुर रहमानले एक गोल फर्काए ।

दशरथ रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा सन्जोकले गोल गर्दै नेपाललाई अग्रता दिलाए । कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन् । सन्जोकको यो डेब्यु गोल हो ।

नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन । चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए । ३० औं मिनेटमा अन्जन विष्टले गोलकिपर कटाएर हान्न खोजेको फ्लिक सर्ट पोष्टमाथिबाट बाहिरिएको थियो ।

खेलको ४२ औं मिनेटमा रन्जित धिमालले दिएको पासलाई सन्जोकले थोरै दिशा दिए । जसलाई विशाल राईले अगाडि बढेर उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे । योसँगै नेपालले पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको थियो । पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि गोल गर्ने राम्रो अवसर निकाल्यो । खेलको ६७ औं मिनेटमा सुनिलको स्थानमा रविशंकर पासवान मैदानमा प्रवेश गरे ।

खेलको ८३ औं मिनेटमा कर्नरबाट हानेको बललाई उत्कृष्ट हेड गर्दै बंगलादेशका महबुबुरले गोल गरे । उनी खेलको ५८ औं मिनेटमा मेहेदी हसनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतियोगिताको विजेता नेपालले ५ हजार डलरसहित ट्रफी जितेको छ । त्यस्तै उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ ।

प्रतिक्रिया