काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशविरुद्ध खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको छ । नेपालका लागि सन्जोक राईले गोल गरे ।
दशरथ रंगशालामा भएको खेलमा सुरुवातमै नेपालले अग्रता बनाएको हो । कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन् । सन्जोकको यो डेब्यु गोल हो ।
नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन । चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए ।
खेलको १७ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए ।