म्यान्मार सेनालाई नेपाली नागरिक समाजको अपिल– नागरिक हत्या रोक

काठमाडौं । नेपाली नागरिक समाजले म्यान्मार सेनालाई नागरिक हत्या रोक्न अपिल गरेको छ । नागरिक समाजका १२ जना अगुवाहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै नागरिक हत्या रोक्न सेनालाई आग्रह गरेको हुन् । कनकमणि दीक्षितलगायतका अगुवाहरुले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार पनि म्यान्मार सेनाको कदमविरुद्ध उभिनुपर्ने उल्लेख छ ।

दीक्षितकाअनुसार विज्ञप्तिमा अन्तर्राष्ट्रिय मुद्दा चलाउन पनि आग्रह गरिएको छ । ‘हामी १२ जना नेपाली नागरिक समाजले विज्ञप्ति निकालेका हौँ,’ दीक्षितले मकालु खबरसँग भनेका छन्, ‘यस्ता नागरिक हत्या हिंसा रोकिनुपर्छ भन्ने पक्षमा हामी छौँ ।’
विज्ञप्तिमा म्यान्मार सेनाले तत्काल शासन सत्ता जननिर्वाचित नेतृत्वमा सुम्पनुपर्ने र सन् २००८ को संविधानको आधारभूत मूल्य मान्यतालाई पालना गर्नुपर्नेसमेत उल्लेख गरिएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा दीक्षितसँगै विपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कूलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के र सुशिल प्याकुरेल छन् ।

हालसम्म त्यहाँ (म्यान्मार)मा सयौं नागरिकको हत्या भइसकेको छ । गत माघ १९ गते सेनाले म्यान्मारको शासन सत्ता आफ्नो हातमा लिएको थियो ।

५० वर्षसम्म शासन चलाएर सन् २०११ मा म्यान्मारको सेनाले शासन व्यवस्था नागरिकमा हस्तान्तरण गरेको जनाएको थियो । तर त्यसको १० वर्ष पुग्दा नपुग्दै फेरि शासन हत्याउँदै एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ ।

म्यानमारमा सेनाको यस्तो कदमको अन्य देशहरुबाटसमेत चौतर्फी विरोध र आलोचना हुन थालेको छ । म्यानमारमा हालै सत्ता कब्जा गरेको सेनाको कदमविरुद्ध नागरिक अवज्ञा शुरु भएको छ ।

प्रतिक्रिया