दुई जनाको ज्यान जाने गरी भएको झडपपछि हराएका सबै युवा सम्पर्कमा

काठमाडौँ । बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन् । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच भएको उक्त झडपपछि हराइरहेका सबै युवा सम्पर्कमा आएका हुन् ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलका अनुसार झडपपछि १० जनाभन्दा बढी बेपत्ता भएका थिए । उनीहरु सबै बिहान सम्पर्कमा आएसकेको अध्यक्ष पौडेलले जानकारी दिए । ‘मृतकको शव अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखिको छ,’ उनले भने, ‘हराएका सबै सम्पर्कमा आइसके । कोहि भागेर घाइते भएका रहेछन्, कसैलाई भीरमा धकेलिएको देखियो ।’

बाग्लुङको निसीखोला गाउँपालिका-७ राजकुत र बडीगाड गाउँपालिका-१० दर्लिङका युवाहरूबीच झडप भएको थियो । झडपमा परी मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य थिए । उनी जिल्लामा परिचित कांग्रेस नेता थिए । दमाइ पनि कांग्रेस कार्यकर्ता थिए । स्रोतका अनुसार घटनामा संलग्न अर्को पक्ष नेकपा माओवादी केन्द्र निकट हो ।

घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) इकवाल हवारीले जानकारी दिए । ‘अहिले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेका छौं,’ डिएसपी हवारीले मकालु खबरसँग भने, ‘घटना कसरी भयो, अहिले भन्नसक्ने अवस्था छैन ।’

दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई प्रहरीले अझै नियन्त्रणमा लिएको छैन ।

प्रतिक्रिया