थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

काठमाडौं । थ्री नेसन्स कप फुटबलको फाइनलमा आज आयोजक राष्ट्र नेपालले बंगलोदशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । लगातार दुई खेलमा गोलविहीन रहेको नेपाल फाइनलमा भने बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । गोलपिकर किरण चेम्जोङको कप्तानीमा नेपाल मैदानमा उत्रिदा फाइनल खेल केही रोचक हुने छ भने खेलाडीको लागि केही भावनात्मक हुनेछ । आजै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनले खेल्दै मैदानबाट सन्यास लिने छन् ।

जमाल हुयाको कप्तानीमा बंगलादेश नेपालविरुद्ध खेल्न लागेको हो । बंगलोदश पनि नेपाललाई पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जित्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु-२३ टिमलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।

जारी प्रतियोगितामा नेपालले गोल गर्न सकिरहेको छैन। ४-५-१ को फर्मेसनमा मैदानमा खेलाडी उतारेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन आजको खेलमा भने केही परिवर्तन गर्ने योजनामा हुनेछन् । यसअघि कीर्गिस्तान र बंगलादेशविरुद्ध सुरुवाती एघारमा कुनै परिवर्तन गरेका थिएनन् ।

प्रतिक्रिया