मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार उज्यालाे अध्यक्ष गुरागाईंलाई

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईँलाई प्रदान गर्ने भएको छ । क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राष्ट्रियसभा गृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्माओलीबाट पुरस्कार वितरण हुने क्लबले जनाएको छ ।

नेपाली राजनीतिका लोकप्रिय कम्युनिष्ट नेता मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । गुरागाईँ विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । गुरागाईसहित १२ पत्रकारलाई क्लबले पुरस्कृत गर्न लागेको जनाएका छ ।

क्लबका अनुसार यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५० हजार रहेको छ ।

यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पण्डित विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यो पुरस्कारको राशी ४० हजार रुपैयाँ छ ।
यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । अधिकारीलाई दिइने पुरस्कारको राशि २५ हजार छ ।

यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन् । सुवेदीलाई दिइने पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।
यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । अनुराग विगत डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यस्तै, यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया