काठमाडौंमा झर्‍यो मेलम्ची (भिडिओ)

काठमाडौं । काठमाडौंको महाँकालचौरस्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् ।

महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । ‘यी क्षेत्रमा पानी पठाइएको छ,’ शाक्यले भने, ‘अहिले दैनिक ४ करोड लिटर पानी आइरहेको छ र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइनेछ ।’

अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उनले बताए । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउनेबित्तिकै र्यापिड रेस्पोन्स टिमले समस्या समाधान गरी पानी पुर्याउने पनि उनले बताएका छन् ।

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुने बताइएको छ । दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा समेत गरी ६ दशमलब ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानी पोखरीहरुमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ । हाललाई पानीको शुल्क यथावत् रहेको पनि केयूकेएलका प्रमुखकार्यकारी अधिकृत शाक्यले बताए ।

भिडिओ–

प्रतिक्रिया