मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘एबी डिभिलियर्स इपिएल खेल्न सकारात्मक’

काठमाडौं। विश्व चर्चित ब्याट्सम्यान एबी डिभिलियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आउने सम्भावना बढेको छ । इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले इपिएलमा एबी डिभिलियर्सलाई ल्याउने कार्य भइरहेको बताएका छन् ।

इपिएल टि–२० क्रिकेट प्रतियोगिता आगामी वर्षको असोज ९ देखि २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । गएको वर्ष चैतमा आयोजनाको अन्तिम चरणमा पुगिसकेको इपिएल क्रिकेट कोरोना माहामारीका कारण रोकिएको थियो ।

गएको वर्ष ड्वायन स्मिथ, उपुल थारंगा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेल जस्ता खेलाडी ल्याउने तयारी भइसकेको थियो ।

यो पटक भने दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सलाई इपिएल खेल्न ल्याउने तयारी भइरहेको तर पक्का भने भइनसकेको प्रबन्ध निर्देशक अख्तरले भने । उनले भने, ‘इपिएल खेल्न एबी डिभिलियर्स सकारात्मक छन् । समय पनि राम्रो मिलिरहेको कारण उनले पनि इपिएल खेल्न इच्छा देखाएका छन् । कुरा भइरहेको छ। तर सम्झौता नै भइसकेको छैन ।’

एबी डिभिलियर्स इपिएल खेल्न आउने सकारात्मक भएपनि सञ्चारमाध्यममा आएजस्तो पक्का भइ नसकेको उनले प्रस्ट्याएका छन् – ‘गएको वर्ष उनको कार्यतालिका मिलिरहेको थिएन ।’

त्यसकारणले पनि त्यो समय उनले इपिएल खेल्न इच्छा देखाएका थिएनन् । तर यो पटक भने इपिएल खेल्नका लागि उनले एजेन्टलाई भनिसकेका छन् । उनको एजेन्टसँग मेरो कुरा भइरहेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com