होली गीत : ‘होलीले रङ्गियो मेरो नयाँ चोली’ र ‘जोगिरा सरर’ कै क्रेज

काठमाडौं । होलीको धार्मिक र सांस्कृतिक महत्व आफ्नै ठाउँमा छ । यस पर्वलाई रमाइलो पर्वको रूपमा लिने जमात पनि सानो छैन । त्यसैले होला होलीलाई लक्षित गरेर धेरै रमाइला गीतहरू वर्षेनी सार्वजनिक हुने गरेका छन् ।

होलीको कुन गीत सम्झनुहुन्छ ? अधिकांश नेपालीको सामान्य जवाफ ‘होलीले रङ्गियो मेरो नयाँ चोली’ भन्ने नै हुन्छ । यस वर्ष मात्रै पनि होलीका केही नयाँ गीत सार्वजनिक भए । तर, पहिलो प्रायःजसोको रोजाइ भने उही ‘अधिकार’ चलचित्रमा अटाएको यही गीत हो ।

उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमालगायतले स्वर भरेको यस गीतमा राजेश हमाल र कृष्टि मैनालीलगायतका कलाकारले गीतमा कम्मर मर्काएका छन् ।

वसन्ती चलचित्रमा होलीको गीत ‘फागु हो फागु’ समावेश गरिएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंहसँगै अन्य कलाकार फिचर्ड छन् ।

तर, पुराना चलचित्रमा समावेश होलीका यी गीतहरू आधिकारिक च्यानलमा भने भेटिँदैनन् । चलचित्र बटरफ्लाईमा ‘होली रे’ बोलको गीत समावेश छ । त्यस्तै ‘गाजलु’ चलचित्रमा रङ्ग–रङ्गा बोलको गीत छ । तर, यी चलचित्रका गीतहरूको खासै चर्चा भएको देखिँदैन ।

यस वर्ष मात्रै कलाकार दीपाश्री निरौलाले होलीको गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् । ‘मार्सी चामल’ नामले परिचित दुर्गा प्रसाईँले गीत निर्माण गरेका हुन् । गीतमा दीपाले तराइको स्वाद मिसाएकी छन् । विराटनगरमा हुर्किएकी उनले होलीको मज्जा देखेकी र आफैँले पनि भोगेकी छन् । यसैकारण पनि उनको गीत रमाइलो छ । उनलाई स्वरमा सुमित खड्काले साथ दिएका छन् । दीपासँगै गीतको भिडिओमा दीपकराज गिरी, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डङ्गोल, अनुराग कुँवर, सुमन गिरीलगायत पनि देखिन्छन् ।

त्यस्तै योगेश काजीले गीत ‘ह्याप्पी होली’ सार्वजनिक गरेका छन् । सारिका घिमिरे र सुवास श्रेष्ठले उनलाई स्वरमा साथ दिएका छन् । डान्सिङ्ग प्याटर्नको गीतमा योगेश र सुवाससँगै दुर्गेश थापा र लोसिना लामिछाने नृत्य गर्दै देखिएका छन् । तर, होली गीतमा हुनुपर्ने जति ऊर्जा या गीतमा देखिँदैन ।

दुई वर्षअघि रमेशराज भट्टराईले निर्माण गरेको गीत ‘होलीमा’ ले भने दर्शक नचाउँछ । हाल सालै उक्त गीत उनले आफ्नै च्यानलमा राखेका छन् । रमेशकै शब्द–सङ्गीत रहेको गीत दीपेन्द्र तिम्सिनाले निर्देशन गरेका छन् । यस गीतमासमेत कान्छीको चोलीको चर्चा गरिएको छ ।

तराइमा भव्य रूपमा मनाइने होली पर्वमा ‘जोगिरा सरर…’ सबै भन्दा चर्चामा रहन्छ । वर्षेनी मैथिली, भोजपुरी र हिन्दी भाषामा होली गीत सार्वजनिक हुन्छन् । तर नेपाली भाषामा ‘होलीले’ एकछत्र कब्जा गरेझैँ तराइमा जोगिरा सरर..ले स्थान लिएको छ ।

प्रतिक्रिया