विश्वकप युरोपियन छनोट : आज राति १० खेल हुँदै

काठमाडौं । विश्वकप फुटबलको युरोपियन छनोटमा आज (शनिबार) राति १० खेल हुँदैछन् । समूह ‘ए’ मा रहेको पोर्चुगलले आफ्नो दोस्रो खेलमा सर्वियासँग खेल्दा समूह ‘इ’ को बेल्जियमले चेक रिपब्लिकसँग खेल्दैछ।

रेड स्टार रंगशालामा घरेलु टिम सर्वियाले पोर्चुगलसँग नेपाली समयअनुसार राति १:३० बजे प्रतिस्पर्धा गर्नेछ । यी दुवै टिमले यसअघिको पहिलो खेलमा जित निकालेका छन् ।

पोर्चुगलले अजरबैजानलाई १–० गोलअन्तरले पराजित गरेको थियो । यता, सर्वियाले आयरल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदानमा उत्रिने पोर्चुगल लगातार दोस्रो खेलमा जित निकाल्ने दाउँमा छ ।  यता, सर्विया भने आफ्नै मैदानमा पोर्चुगललाई रोक्ने प्रयासमा हुनेछ ।

त्यस्तै, समूह ‘इ’ को बेल्जियम र चेक रिपब्लिकबिचको खेल पनि नेपाली समयानुसार राति १:३० बजे नै सुरु हुनेछ । इडेन ऐरिनामा हुने खेलमा घरेलु टिम चेक रिपब्लिक बेल्जियमलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । यी दुवै देशले आफ्नो पहिलो खेलमा जित निकालेका छन् ।

बेल्जियमले आफ्नो पहिलो खेलमा वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । यता, चेक रिपब्लिकले भने इस्टोनियालाई ६–२ गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, आज राति नै हुने खेलमा २०१८ को विश्वकप आयोजना गरेको रसियाले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, क्रोसियाले साइप्रससँग खल्नेछ ।

त्यस्तै, समूह ‘जी’ को नर्वे र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। आयरल्यान्ड र लक्जमवर्ग, बेलारुस र इस्टोनिया, मोन्टेनेग्रो र जिब्राल्टार, नेदरल्यान्ड्स र लात्भिया, स्लोभाकिया र माल्टाबीच आजै राति प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया