[कविता] अरबे

  • वीरबल खड्का

देशको माया कति छ कति
पल पलमा देशलाई सम्झन्छ अरबे
पिआर पाइएला उत्तै बसौला
परिवार लिएर जाउला भन्ने
आशाले विदेशिएको हैन अरबे ।

फुसको छानो फेर्न हिंडेको हो
परिवारलाई अलिकति उठाउन
छोरा-छोरीलाई शिक्षा दिन
बुढा बा-आमाको उपचार खर्च
जोहो गर्न हिंडेको हो अरबे ।

घर छोडेदेखि जहाँ पनि
शोषित हुन्छन् अरबे
बसमा, होटलमा, चोकमा
अड्डामा, फाईलमा
अनि विमानस्थलदेखि विदेशसम्म
किनकी निमुखाका छोराछोरी हुन् अरबे ।

चाकडी नजान्ने, चाप्लुसी नगर्ने
किसान मजदुर भरियाका छोराछोरी
अर्थात भूइँमान्छे हो अरबे
झुत्रे फरिया ओडेकी आमा
बुच्चो कान बसेकी जहानको
आशा बोकेर हिंडेको हो अरबे ।

हरेक दिन कालसँग लडेर बचेको अरबे
मुठभेडमा अधकल्चो हुन्छ कहिले
नमिठो गालि र सराप बेहोर्छ
नबुझिने भाषा
तर कत्ति निराश हुन्न अरबे
घरमै लुटिँदा पनि ऊ हतास हुन्न
बनमा लुटिदा र लुटिईरहन्छ
निहत्था अरबे ।

युरोप अमेरिका गएका जस्तो हुन्न अरबे
कहिले आउँछन् कहिले जान्छन्
हुँदैन अत्तोपत्तो
अखिर उनीहरुका अघि पछि हिडिने
सबै उस्तै हुन्छन छुटाउने गाह्रो
जहाज अर्को गाडी अर्को
घर बजारमा युरोपे अमेरीकीको ।

चलनको चल्ती हो कि
खै सबैले चिन्छन् अरबेलाई
डोरी बानेको झोलासँगै
उसका अघि पछि हिड्नेहरु
सबै झुत्रिएका मैलिएका पहिरन
फरक गाउले देखिन्छन् ।

आखिर सरकारको परिपत्रले चिनिने
बसको कुल्लिले पनि दाई अरबे भन्छ
अनि आफ्नै घरको कुकुरले
सधैं भनिरहन्छ
अखिर एउटा कर्मठ श्रमजीवी न हो अरबे ।

देशको माया छ उसलाई
आफ्नै आमा जतिकै माया गर्छ,
आखिर विकल्प बिनाको अरबे
हिजो जे देख्यो,
आज पनि देखि रहेको छ
भोली पनि देख्ने छ
त्यहि राष्ट्र भक्त अरबे ।

  • खड्का, वैदेशिक राजगारीको सिलसिलामा हाल कतारमा छन् ।
प्रतिक्रिया