नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिदेशीय सिरिज हुने

काठमाडौं । आयोजक नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि क्रिकेट मैदानमा ‘बजाज पल्सर त्रिदेशीय सिरिज’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

त्रिदेशीय सिरिज त्रिवि क्रिकेट मैदानमा वैशाख ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । सिरिज डबल राउन्ड रोविनमा सञ्चालन हुनेछ । अर्थात् एक देशले अर्को देशसँग दुई खेल खेल्नेछ । शीर्ष दुई देश फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

कोरोनाको उच्च सतर्कता अपनाउँदै प्रतियोगिता आयोजना गरिने क्यानले जानकारी दिएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले छोटो समयमा नै त्रिदेशीय क्रिकेट खेल्न तयार भएकोमा नेदरल्यान्ड्स क्रिकेट र मलेसिया क्रिकेटलाई धन्यवाद दिएका छन् । ‘म नेदरल्यान्ड्स र मलेसिया क्रिकेटलाई धन्यवाद दिन चाहान्छु । छोटो अवधिमा नै हामीले गरेको प्रस्तावलाई स्वीकार्दै सिरिज खेल्न तयार भएको छ । यसले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फेरि फर्किएको सन्देश दिनेछ’, अध्यक्ष चन्दले भने ।

लामो समयदेखि कुनै पनि क्रिकेट प्रतियोगिता खेल्न नपाइरहेको अवस्थामा त्रिदेशीय सिरिजले उत्साह पैदा गरेको नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रियान क्याम्बेलले बताएका छन् । उनले भनेका छन्, ‘२०१९ को नोभेम्बरपछि हामीले कुनै पनि प्रतियोगिता खेल्न पाएका छैनौं । म धेरै उत्साहित छु‚ नेपालमा हुने त्रिदेशीय सिरिज खेल्न पाउने हुँदा ।’

प्रतिक्रिया