नेपाल दूरसञ्चारले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

उक्त सभामा करिब ९२ प्रतिशत शेयर धनीहरुको उपस्थिति रहेको थियो । सभाले आर्थिक वर्ष २०७६/७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको जनाएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया