नेपाललाई बंगलादेशको चुनौती

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालको लागि फाइनल यात्रामात्रै नभएर प्रतिष्ठाको लडाइँ पनि हो ।

१० गते आफ्नो पहिलो खेलमा कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले हराउँदै फाइनल पुग्ने सम्भावना बंगलादेशले बलियो बनाएको थियो । दोस्रो खेलमा नेपाल र कीर्गिस्तान गोलरहित बराबरीमा रोकिएसँगै बंगलादेश एक खेल अघि नै फाइनल पुग्यो । अब शनिबार नेपाल र कीर्गिस्तानमध्ये एक टिम फाइनलमा प्रवेश गर्नेछ ।

फाइनल प्रवेश गर्ने नेपालको सम्भावना भने बलियो छ । बंगलादेशसँग बराबरी खेलेपनि नेपाल फाइनल पुग्नेछ । त्यसो त बंगलादेशसँग १–० गोलले हारेपनि नेपालको फाइनल पुग्ने सम्भावना भने रहन्छ ।

नेपाली टिम ।

बंंगलादेश बलियो टिम भने होइन । नेपाल र बंगलादेशको स्तर उस्तै नै हो । बंगलादेश र नेपालबीचको खेल भने अन्तर्राष्ट्रिय खेलमा गनिने पनि छ । यस कारण पनि बंगलादेशसँगको खेल नेपालको प्रतिष्ठासँग जोडिएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा बराबरीपछि आत्मविश्वास बढेको भन्दै दोस्रो खेलमा अंक गुमाउनु नहुने बताए । ‘हामीले पहिलो खेलमा बल पोसेसन र खेलमा दिएको दबाबालाई विचार गर्नुपर्छ । गोलमात्र हुन नसकेको हो । अरु सबै हाम्रो नियन्त्रणमा थियो । फरवार्डले अवसर बुझ्न सकेनन्। अब बंगलादेशसँगको खेलमा सुधार गर्नेछौं’, उनले भने ।

२५ खेलमध्ये ७ मा नेपाल विजयी
नेपालले अन्तर्राष्ट्रिय स्तरमा खेलिरहने टिममध्येकै एक हो, बंगलादेश । अहिलेसम्म बंगलादेशसँग नेपालले २५ खेल खेलेको छ ।

२५ खेलमध्ये नेपालले सात खेलमा मात्रै जित निकाल्दा १४ खेलमा नतिजा बंगलादेशलाई सुम्पिएको छ । त्यस्तै, चार खेलमा भने बंगलादेश र नेपालले बराबरी खेलको इतिहास छ ।

बंगलादेशी टिम ।

नेपालले पछिल्लो समयमा सन् २०१८ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई उसैको भूमिमा २-० गोलले पराजित गरेको थियो । तर त्यसपछि पनि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ । २०२० को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिम बंगलोदशसँग २-० गोलले हारेको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया